काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन उच्च अंकले बढेर बन्द भएको सेयर बजार यसदिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार ११.६९ अंक बढेर २,१२९.४२ को विन्दुमा पुगेको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेनसेटिभ इण्डेक्स पनि ३.६६ अंक बढेर ३९९.११ को विन्दुुमा पुगेको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ४२ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, सोल्टी होटलको २७ करोड २६ लाख, हिमालयन डिस्टिलरीको २२ करोड ३७ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १५ करोड ४९ लाख र नेपाल लाइफ इन्स्यारेन्सको १४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र रहेको छ ।
यसदिन नेप्से परिसूचक बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । दिनभरिमा २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से परिसूचक ६२.२१ अंक बढ्दा ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । कारोबारमा आएको १२३ कम्पनीको सेयर मूल्य बढेको छ । ९८ कम्पनीको सेयर मूल्य घटेको छ भने, ४ कम्पनीकाे सेयर मूल्य स्थिर छ ।
नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, विपिडब्लु लघुवित्तको र सिटी होटलको ९.९९ प्रतिशत, सिभिल लघुवित्त र माउन्टेन इनर्जिको ९.९७ प्रतिशत, आशा लघुवित्तको ९.४७ प्रतिशत, मिथिला लघुवित्तको ९.४६ प्रतिशत, डिप्रोक्स लघुवित्तको ९.३५ प्रतिशत सेयर मल्य बढेको छ । बाँकी कम्पनीको सेयर मूल्य ८.२२ प्रतिशतभन्दा कमले बढेको छ । कारोबारमा आएको सुपर मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ६.९४ प्रतिशतले घटेको छ ।
यस दिन १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। सोमबार लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९९ प्रतिशत बढेको छ।
त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ३.११ अंक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्ला दिनहरुमा उच्च अंक बढेको जीवन बीमा र निर्जीवन बिमा उपसमूहको परिसूचक भने यस दिन घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.०८ प्रतिशत र निर्जीवन बिमाको ०.९७ प्रतिशत घटेको छ।
प्रतिक्रिया दिनुहोस्