दमाैली । तनहुँका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
तनहुँका सबै स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आइतबार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जिल्लाका सबै स्थानीय तहले कृषि, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएका छन् ।
व्यास नगरपालिकाले १ अर्ब ५९ करोड ३१ लाख एक हजार रूपैयाँ, भिमाद नगरपालिकाले ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० रूपैयाँ, भानु नगरपालिकाले एक अर्ब सात करोड ३२ लाख ५६ हजार रूपैयाँ, शुक्लागण्डकी नगरपालिकाले एक अर्ब २८ करोड ३१ लाख तीन हजार रूपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
देवघाट गाउँपालिकाले ५० करोड ६६ लाख ९८ हजार छ सय रूपैयाँ, आँबुखैरेनी गाउँपालिकाले ६३ करोड रूपैयाँ, बन्दीपुर गाउँपालिकाले ४८ करोड ६१ लाख ८४ हजार रूपैयाँ, म्याग्दे गाउँपालिकाले५५ करोड ५३ लाख ५० हजार रूपैयाँ, ऋषिङ गाउँपालिकाले ५५ करोड २५ लाख २८ हजार रूपैयाँ र घिरिङ गाउँपालिकाले ४३ करोड ७८ लाख ८९ हजार नौ सय रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।
जिल्लाको पुरानो र ठूलो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट प्रस्तुत गरेको छ । व्यास नगरपालिकाले चालुतर्फ ९० करोड ८६ लाख ९६ हजार रूपैयाँ र पुँजीगतर्फ ६८ करोड ४४ लाख पाँच हजार रूपैयाँ विनियोजन गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिए । कूल बजेटको ५७.०४ प्रतिशत चालुतर्फ र ४२.९६ प्रतिशत बजेट पुँजीगतर्फ विनियोजन गरिएको छ ।
उपप्रमुख दरैका अनुसार आर्थिक विकासतर्फ पाँच करोड ९६ लाख १० हजार रूपैयाँ, सामाजिक विकासतर्फ ७१ करोड दुई लाख ९२ हजार रूपैयाँ, पूर्वाधार विकासतर्फ ५३ करोड ५४ लाख ३१ हजार रूपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ सात करोड १६ लाख ५० हजार रूपैयाँ, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ २१ करोड ६१ लाख १८ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ । राजस्व सङ्कलन कमी, सङ्घ र प्रदेश अनुदान कटौती भएकाले चालु अवस्थामा रहेका योजनामा पाँच करोड रूपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिए।
आम्दानीतर्फ सङ्घ सरकारको सशर्त अनुदानबाट ५७ करोड २२ लाख रूपैयाँ, आन्तरिक स्रोतबाट १८ करोड एक लाख रूपैयाँ, सङ्घ सरकारको वित्तीय समानीकरण १७ करोड ९९ लाख रूपैयाँ, सशर्त पुँजीगत अनुदान १६ करोड ४४ लाख रूपैयाँ, राजश्व बाँडफाँट १५ करोड ४१ लाख ३२ हजार रूपैयाँ, नगर विकास कोष ऋणबाट १० करोड रूपैयाँ, प्रदेश वित्तीय समानीकरणबाट दुई करोड ६० लाख ६८ हजार रूपैयाँ, सङ्घ विशेष अनुदानबाट २ करोड ५० लाख रूपैयाँ, प्रदेश सरकार राजश्व बाँडफाँटबाट २ करोड ३३ लाख एक हजार रूपैयाँ, सङ्घ सरकारको सडक बोर्डबाट एक करोड ५० लाख रूपैयाँ, प्रदेश विशेष अनुदानबाट ६० लाख रूपैयाँ, प्रदेश समपुरक अनुदानबाट ६० लाख रूपैयाँ, जिल्ला समन्वय समिति अनुदानबाट ५० लाख रूपैयाँ र जनसहभागिता ५० लाख रूपैयाँ हुने अनुमान गरिएको छ ।
नगरपालिकाले कृषि, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेको छ । स्थापनाकालदेखि नगरपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिको जगमा रही राज्य पुनःसंरचनापछि दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले विगतका कामको समीक्षा गर्दै नगरवासीको भरोसालाई ध्यानमा राखेर स्रोतगत सीमालाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम बनाइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए।
भानु नगरपालिकाले आगामी आव २०८०/८१ का लागि एक अर्ब सात करोड ३२ लाख ५६ हजार रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपप्रमुख उमा गोतामेका अनुसार जसमध्ये चालुतर्फ ५८ करोड ४४ लाख रूपैयाँ र पुँजीगततर्फ ४८ करोड ८८ लाख ५६ हजार रूपैयाँ विनियोजन गरिएको छ ।
आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १३ करोड ४७ लाख रूपैयाँ, सङ्घीय विभाज्य कोषबाट प्राप्त हुने राजस्व बाँडफाँट १२ करोड ३२ लाख ३१ हजार रूपैयाँ, सशर्त अनुदान ४२ करोड एक लाख रूपैयाँ, सङ्घीय समपुरक अनुदान रु एक करोड ८५ लाख रूपैयाँ, सङ्घीय विशेष अनुदान दुई करोड रूपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान एक करोड ८९ लाख ५२ हजार रूपैयाँ, प्रदेश राजश्व बाँडफाँट एक करोड ३५ लाख ७३ हजार रूपैयाँ, प्रदेश सशर्त अनुदान ३० लाख रूपैयाँ, प्रदेश विशेष अनुदान ३० लाख रूपैयाँ, प्रदेश समपुरक अनुदान ५० लाख रूपैयाँ, आन्तरिक राजस्वबाट प्राप्त हुने तीन करोड रूपैयाँ अनुमान गरिएको छ ।
स्थानीय सरकारको क्षेत्रभित्रका करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिइएको उपप्रमुख गोतामले बताए। उनका अनुसार कर तथा गैरकर राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गर्दै राजस्व सुधार अभियान सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिकलाई ध्यानमा राखेर प्रगतिशील कर प्रणाली विकसित गरिने उनले बताए।
शुक्लागण्डकी नगरपालिकाले एक अर्ब २८ करोड ३२ लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख खुमबहादुर विकका अनुसार पूर्वाधारतर्फ पाँच करोड ६५ लाख ७० हजार रूपैयाँ, सामाजिक विकासतर्फ तीन करोड ७७ लाख रूपैयाँ, आर्थिक विकासतर्फ एक करोड २५ लाख रूपैयाँ, वातावरणतर्फ एक करोड २५ लाख ७१ हजार रूपैयाँ, सुशासनतर्फ ६२ लाख ८५ हजार रूपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाका १२ वडामा कुल आठ करोड ३८ लाख सात हजार आठ सय ३८ रूपैयाँ विनियोजन भएको छ ।
भिमाद नगरपालिकाले ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० रूपैयाँ को बजेट प्रस्तुत गरेकामा चालुतर्फ ४३ करोड ९८ लाख ५६ हजार रूपैयाँ र पुँजीगततर्फ १९ करोड ९१ लाख रूपैयाँ छुट्याएको छ । उपप्रमुख शारदा खनालका अनुसार सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख रूपैयाँ, पूर्वाधार विकासतर्फ १३ करोड ३७ लाख रूपैयाँ, सुशासन तथा अन्तरिकतर्फ एक करोड ३२ लाख रूपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १० करोड ८९ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
ऋषिङ गाउँपालिकाले ५५ करोड २५ लाख २८ हजार रूपैयाँ विनियोजन गरेकामा सङ्घीय समानीकरणबाट नौ करोड सात लाख रूपैयाँ, राजस्व बाँडफाँटबाट १० करोड १४ लाख चार हजार रूपैयाँ, सशर्त अनुदानबाट २३ करोड ४१ लाख रूपैयाँ, प्रदेश सशर्त अनुदानबाट ६० लाख रूपैयाँ, विशेष अनुदानबाट ७५ लाख रूपैयाँ, सशर्त अनुदान पुँजीगतबाट एक करोड नौ लाख रूपैयाँ र समानीकरणबाट एक करोड २६ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
आँबुखैरेनी गाउँपालिकाले ६३ करोड रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकामा चालुमा ३९ करोड १३ लाख ५१ हजार रूपैयाँ र पुँजीगततर्फ २३ करोड ८६ लाख रूपैयाँ अनुमान गरिएको उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिए।
म्याग्दे गाउँपालिकाले ५५ करोड ५३ लाख ५० हजार रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकामा चालुतर्फ २१ करोड ५३ लाख ८५ हजार रूपैयाँ र पुँजीगततर्फ ३२ करोड ५७ लाख ८२ हजार रूपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए। जसमध्ये चालुतर्फ ३८.७८ प्रतिशत र पुँजीगततर्फ ५८.६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले चालुतर्फभन्दा विकासतर्फ प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।
घिरिङ गाउँपालिकाले ४३ करोड ७८ लाख ८९ हजार नौ सय रूपैयाँको बजेट प्रस्तुत गरेको छ । देवघाट गाउँपालिकाले पूर्वाधारलाई प्राथमिकता दिएर ५० करोड ६६ लाख ९८ हजार छ सय रूपैयाँको बजेट प्रस्तुत गरेको उपाध्यक्ष भुवनसिं गुरुङले जानकारी दिए। बन्दीपुर गाउँपालिकाले पर्यटनलाई केन्द्रित गरी ४८ करोड ६१ लाख ८४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको उपाध्यक्ष पञ्चमाया गुरुङले बताए। रासस
प्रतिक्रिया दिनुहोस्