काठमाडौं । प्रतिनिधी सभाका सदस्य मेटमणी चौधरीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ब्याजदर घटाउन आग्रह गरेका छन् । बुधबार राष्ट्र बैंकमै पुगेर सांसद चौधरीले देशको अर्थतन्त्र र उद्यमी व्यवसायीहरुको अवस्थाका बारेमा गभर्नरलाई आफ्ना धारणा सुझाएका हुन् । उनले निक्षेपको ब्याजदर ४/५ प्रतिशत कायम गरेर ऋणको ब्याजदर एकल अंकमा रोक्नुपर्ने बताएका थिए ।
‘गभर्नरज्यूसँग देशको आर्थिक अवस्था, सम्भावित भविष्य र संकट समाधानका उपायबारे छलफल भयो, व्यवसायीहरुले एक अंकको ब्याजदरमै ऋण पाउनुपर्छ, त्यस्तो व्यवस्था लागु गर्न सुझाव दिएँ ।’, प्रतिनिधी सभाको अर्थ समितिका सदस्य समेत रहेका सांसद चौधरीले भने । उनले निक्षेपको ब्याजदर ४/५ प्रतिशत मात्रै तोकिनुपर्ने आफ्नो विचार पनि गभर्नरलाई सुनाएको बताए ।
सांसद चौधरीले आगामी मौद्रिक नीतिबाट व्यवसायीहरुलाई राहत दिनुपर्ने माग पनि अघि सारेका थिए । न्युन ब्याजदरमा ऋण पाउने तथा संकटमा रहेका उद्योगी व्यवसायीहरुलाई ब्याज र ऋण तिर्ने भाखामा थप सहुलियत दिन पनि उनले माग गरेका थिए ।
भेटमा गभर्नर अधिकारीले एकल अंकको ब्याजदरमा ऋण दिने व्यवस्था मिलाउन कठिन रहेको यद्यपी आफुले राष्ट्र बैंकको कोर टिममा छलफल भने गर्ने बताएका थिए । ‘एकल अंकको ब्याजदरमा ऋण दिन प्राबिधिक कठिनाई छ, १० देखि १२ प्रतिशतको सिमामा भने राख्ने कोशिस जारी छ । हामी छलफल गरिरहेका छौं’, गभर्नर अधिकारीको भनाई उदृत गर्दै सांसद चौधरीले भने ।
गभर्नर अधिकारीले अहिले लगानीको राम्रो वातावरण नै नभएकाले बैंकहरुको ऋण प्रवाह रोकिएको बताएका थिए । उनले लगानीको वातावरण बन्ने वित्तिकै ऋण लगानी वृद्धि हुने पनि स्पष्ट पारेका थिए । आगामी मौद्रिक नीतिबाट सरकारले अघि सारेको ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फिति दर कायम गराउने कार्यक्रम अघि सार्ने पनि गभर्नर अधिकारीले जानकारी गराएका थिए । देशको वित्तिय क्षेत्रलाई थप बलियो र शसक्त बनाउन आफुले काम गरिरहेको जानकारी पनि उनले दिएका थिए ।
मुलुकमा बढदै गयको आर्थिक सङ्कट , बैंकको ब्याजदरमा मा भएको उतारचढाव दिनानुदिन जनतामा आएको आर्थिक सङ्कट र यसको सामाधान के हुनसक्छ भन्ने बिषयमा प्रतिनिधि सभा सदस्य तथा एकीकृत समाजबादीको दलको प्रमुख सचेतक मेटमणी चौधरीले नेपाल रास्ट्रबैंकका गभर्नर माहाप्रसाद अधिकारी सङ छलफल गर्दै ।
प्रतिक्रिया दिनुहोस्