फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुङ्गोला सीमा नाका १६ महिनादेखि बन्द छ । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमका कारण टिप्ताला सीमा बन्द भएको हो । गत वर्षको मङ्सिरदेखि नाका बन्द छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमासमेत फैलिन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गरेको थियो ।
गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएसँगै नाका बन्द भएको थियो । “आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलिनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो । नाकामा १६ महिनादेखि आवतजावत बन्द छ”, वडाध्यक्ष शेर्पाले भने ।
वर्षाको समयमा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भर पर्छन् । वर्षामा बाढी पहिरोलगायतका कारण त्यहाँका स्थानीय सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन् । गाउँपालिका—७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका ८० प्रतिशत मानिस चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष शेर्पा भोटेले बताए । उनले भने “लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनदेखि आउन बन्द भएको छ । याक, चौँरीका लागि नुनदेखि अन्य अति आवश्यक खाद्य सामग्रीमा ल्याउन पाएको छैन ।” नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको वडाध्यक्ष भोटेले बताउनुयो । ओलाङचुङ्गोला समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पदर्छ । यस क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो ।
याङ्मा समुन्द्र सतहदेखि चार हजार २०० मिटरमा पर्दछ । विगतमा याङ्मावासी चीनको बजारमा निर्भर थिए । लामो समयसम्ममा पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए । उनले भने, “विगतदेखि नै याङ्मावासी चीनको बजारमा निर्भर थिए । याङ्मा बस्तीमा नाका बन्द भएदेखि नेपाली बजारमा भर पर्न थालेको छ ।” नाका बन्द भएपछि आर्थिक सङ्कट हुँदै आएको चेम्जोङले बताउनुभयो । चौँरी, याक तथा पशुजन्य खाद्य पदार्थको बजार चीन हो ।
ओलाङ्चुङ्गोला निवासी तेन्जिङ वालुङले चौँरी याक, घीउ, छुर्पी, याक र चौँरीका मासु, जमर (याकको पुछर) चीनको बजारमा व्यापार हुने भए पनि नाका बन्दका कारणले समस्या भइरहेको जानकारी दिए । एक त दुर्गम पहाडी जिल्ला, त्यसमा पनि अनेक समस्याले भरिएको यो ठाउँमा आयआर्जनका सबै उपाय बन्द भएकाले स्थानीयवासीको जीवन कष्टकर बन्दै गएको आभास भइरहेको छ ।
पशु व्यवसायदेखि उत्पादन भएको पशुजन्य वस्तुहरुले बजार नपाएपछि व्यवसायी आर्थिक सङ्कटको चपेटामा परेको वालुङले बताए । ओलाङ्चुङ्गोलामा बुनेका गलैँचाले चीनमा राम्रो बजार लिएको छ । गलैँचा बिक्री गरेरै राम्रो आयआर्जन हुन्छ । तर अहिले यो सम्भावना समाप्त भएको स्थानीय लामा भुजुङ शेर्पाले बताए । उनले भने “मेरो घरमा ५० वटा गलैँचा थुपारी राखेको छ । फुङलिङ बजारमा लगेर बेच्यो भने कम मूल्यमा बिक्री गर्नुपर्दछ । त्यसैले घरमै राखेको छु ।” घर खर्च टार्न उत्पादन गरेको गलैँचा सदरमुकाम पु¥याएर उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएको शेर्पाले बताए ।
इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादन भएको चिराइतो नाका बन्द अगाडि नै चीन पठाउन ओलाङ्चुङ्गोलामा पुर्याएर राखिएको थियो । लामो समय सम्म नाका बन्द हुँदा फेरि सदरमुकाम हुँदै भारत पठाउनु परेको व्यापारी दावा च्युङदाक शेर्पाले बताए ।
चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका कृषक निराश भएको ताप्लेजुङ सिरिङ्घा गाउँपालिका–७ यामफुदिन निवासी मनकुमार राईले बताए । राईले भने , “पहिला–पहिला चिराइतो खोज्दै व्यापारी घरघरसम्म आउँथे । तर आजभोलि चिराइतोको कुरा गर्ने व्यापारी भेटिँदैन ।” चीनतर्फ चिराइतो निर्यात हुन छोडेसँगै खेती गर्न छोड्दै गएको फक्ताङलु गाउँपालिका—६ निवासी कृषक राजकुमार राईले बताए ।
प्रतिक्रिया दिनुहोस्