काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयबद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो ।
अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनले भने, ‘समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदा समेत घण्टौं लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यक्ता छ।’
यस्तै संसद्मा विचाराधीन अधिकांश आर्थिक विधेयकहरूलाई अघि बढाउन सहजीकरण गरी दिन पनि चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ । चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘ निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथा अन्य विधेयकहरू समयमै पारित हुन नसकेकाले कतिपय समस्याहरू सम्बोधन हुन सकेका छैनन्, यसका लागि पनि सहजीकरण गरी दिनुहुन अनुरोध गर्दछौं।’
चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा समेत जोड दिएको छ । खासगरी ठूला जलविद्युत आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रवर्द्धनका लागि विदेशी लगानी सम्मेलन यथाशीघ्र आयोजना गर्नसमेत चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ।
वैदेशिक लगानी सम्मेलनका क्रममा सूचना प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न समेत आग्रह गरिएको चेम्बर अध्यक्ष मल्लले बताउनुभयो । उहाँले भने, ‘विश्वमा सूचना प्रविधियुक्त सेवाको माग दिन प्रतिदिन वृद्धि भएकाले हाम्रा युवाहरूलाई स्वदेशमै अन्तराष्ट्रिय ठूला आइटी कम्पनीहरूको व्याकअपका रुपमा काम गर्ने व्यवस्था जीटुजीमार्फत गरेर आईटी उद्योगहरूलाई विकास गरिनुपर्छ।’
चेम्बर पदाधिकारीहरूसँगको भेटपछि मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशिल रहेको भन्दै उहाँले यसका लागि दीर्घकालीन नीतिगत योजना बन्ने काम भइरहेको बताए ।
जनताको सेवा प्रवाह सुधारको विषय सरकारको सफलतासंग पनि जोडिएको उनको भनाइ छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव डा. अर्यालले अन्तराष्ट्रिय लगानीका लागि पनि पहल भइइरहेको जानकारी दिए ।
भन्सार प्रशासनलाई चुस्त बनाएर राजस्व संकलनको लक्ष्य वृद्धि एवं पुँजीगत खर्च समयमै गर्ने गरी नीतिगत व्यवस्थाको तयारी भइरहेको समेत उहाँले जानकारी दिए । चेम्बरले पुँजीगत खर्च वृद्धिका लागि पनि समयबद्ध तालिका बनाएर काम गर्नुपर्ने सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्