काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्सले आज शुक्रबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरु लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।
इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २ सय ३६ रुपैयाँ ९१ पैसामा सेयर बिक्रीमा ल्याएको हो। इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरिएको हो।
इन्स्योरेन्सको सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्छ। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस्