काठमाडौं। नेप्स पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्डस काउन्सिल (पीसीआई एसएससी) को सल्लाहकार समितिमा चयन भएको छ।
पीसीआई एसएससी कार्डमार्फत हुने कारोबारमा डेटा सुरक्षासम्बन्धी मापदण्डहरूको विकासलाई व्यवस्थित गर्न स्थापना भएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था हो। भिसा, मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डिएसएस सर्टिफिकेसन अनिवार्य गरेका छन्।
कार्डमार्फत हुने कारोबारको सुरक्षा र सोसम्बन्धी विकास, भइरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्ने तथा डाटा सुरक्षासम्बन्धी मापदण्डहरूको विकास गरी लागू गर्ने उद्देश्यले उक्त संस्था बनेको हो।
सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरूले कार्डमार्फत हुने कारोबारमा डेटा सुरक्षासम्बन्धी मापदण्डहरूको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ–आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरू मापदण्डको विकास क्रममा प्रस्तुत गरी मापदण्डहरूलाई समय सापेक्ष बनाउन नेतृत्व गर्ने नेप्सले जनाएको छ।
सल्लाहकार समितिको सन् २०२३–२०२५ को कार्यकालको २० सिटको लागि ६४ मनोनयन दर्ता भएको थियो।सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो। २०२३ जून १ मा प्रकाशित नतिजाबाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनीत भएको जनाएको छ।
मनोनीत भएसँगै, नेप्सले अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त संस्थाहरूसँग मापदण्ड निर्धारण तथा कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षासम्बन्धी अन्य विषयहरूमा छलफल तथा ज्ञान आदान–प्रदान गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्