काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुसँग चार घण्टाभन्दा लामो छलफल गरेको छ । राजधानीको एक पाँचतारे होटलमा राष्ट्र बैंकका गभर्नरसहितको टोलीले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सीईओहरुसँग एक बजेदेखि ५ बजेसम्म बृहत् छलफल गरेको हो ।
छलफलको मोडरेसन डेपुटी गभर्नर बमबहादुर मिश्रले गरेका थिए । गभर्नर महाप्रसाद अधिकारीले यसपाली नाफा कमाउनेभन्दा पनि वित्तीय विवरणलाई स्वस्थ बनाउनेतर्फ लाग्न निर्देशन दिए । ‘यो अप्ठेरो बेला हो, अहिले नाफा कमाउने दौडधुप गर्नेभन्दा पनि आफ्नो वित्तीय विवरणहरु स्वस्थ बनाउन तर्फ लागिपर्नु होला ।’, गभर्नर अधिकारीको भनाईलाई उदृत गर्दै एक बैंकका अध्यक्षले सिंहदरबारसँग भने ।
गभर्नर अधिकारीले सीईओहरुलाई नाफा बढाउनका लागि दबाब नदिन पनि गभर्नरले निर्देशन दिएका थिए । ‘यो भनेको सबै बाच्ने समय हो, नाफा बढाउनका लागि व्यवस्थापनलाई प्रेसर नगर्नु होला, बिजनेस बढाउनेतर्फ पनि धेरै जोड नगर्नुस्, त्यसले झन समस्या निम्त्याउँछ, अहिले त जोगिने समय हो’, गभर्नर अधिकारीले भनेका थिए ।
ब्याजदर एकल अंकमा ल्याउँदा पुँजी पलायन हुने जोखिमतर्फ सचेत हुनुपर्नेमा गभर्नरको जोड थियो । ‘बजारले एकल अंकको ब्याजदर मागिरहेको छ, तपाईंहरुमध्ये पनि केहीले यही भनिरहेको सुन्छु, त्यस्तो भयो भने त क्यापिटल फ्लाइट हुन्छ, हामी सचेत हुनुपर्छ, एकल अंकको ब्याजदर भनेर मात्रै हुन्न, त्यसले ल्याउन सक्ने जोखिमबारे पनि हेर्नुपर्छ’, गभर्नर अधिकारीले भनेका थिए ।
गभर्नर अधिकारीले न्यून भन्सार दर भएका वस्तुहरुको अधिक मूल्य राखेर पुँजी पलायन गराइरहेको र विदेशमा भिल्ला खरिद गरेका सूचनाहरु आफूसँग रहेको र त्यसबारे सुक्ष्म अध्ययन गरिरहेको बताए । ‘न्यून भन्सार दरका वस्तुहरु आयात गर्न अधिक दर तोकेर विदेश पैसा पठाउने र दुबई तिर भिल्ला किनेको सूचना हामीसँग छ, त्यसको अध्ययन भैरहेको छ, हामी त्यत्तिकै छाड्ने कुरा हुन्न, तपाईहरु पनि सचेत हुनु होला ।’, गभर्नरको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
त्यसबाहेक, कतिपय बैंकरहरुले नै सेयर बजार बढाउन घटाउन भूमिका खेल्न थालेकोमा पनि गभर्नर अधिकारीको असन्तुष्ठि थियो । ‘कतिपय बैंकर, कतिपय सञ्चालकहरु नै सेयर बजारमा संलग्न भएको सूचनाहरु हामीसँग छन्, बजार बढाउन घटाउन भूमिका खेलेका तथ्यहरु छन्, त्यस्तो गर्न पाइँदैन्, हामी चुप लागेर बस्ने अवस्था छैन्’, गभर्नर अधिकारीले भनेका थिए । गभर्नर अधिकारीले सम्पति शुद्धीकरणका मामलामा पनि सचेत रहने बैंकका अध्यक्षहरुलाई सुझाव दिएका थिए ।
भेटमा ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका समेत अध्यक्ष चन्द्र ढकालले बैंकहरुविरुद्ध नकारात्मक सन्देश गैरहेकाले त्यसलाई चिर्न सबैले बोल्नुपर्नेमा जोड दिएका थिए । ‘बैंकहरुले त लुटेरै खाए भन्ने खालको सन्देश गैरहेको छ, अर्बपति क्लबमा बैंकहरु भन्न थालिएको छ, बैंकहरु विरुद्ध हुटिङ भैरहेको छ, हामीले लुटेर खाएका होइनौं । संस्थाहरु ठूला भैसके, नाफा घटिरहेको छ, आरओई पनि घटिरहेकै छ’, ढकालको गुनासो थियो ।
एनआरएनका संस्थापक अध्यक्ष तथा माछापुच्छ्रे बैंकका अध्यक्ष उपेन्द्र महतोले बैंकका लगानीकर्ताहरुका लागि १५ प्रतिशतको लगानी सीमा हटाउनुपर्नेमा जोड दिएका थिए । रसियाको उदाहरण दिँदै उनले भनेका थिए, ‘यो १५ प्रतिशतको लगानी सीमा किन ? रसियामा शत प्रतिशतसम्म लगानी गर्न पाइन्छ, कि त शतप्रतिशत लगानी गर्न दिनुस्, होइन भने एक प्रतिशतको सिमा तोकि दिनुस्, सबै सेयरलाई पब्लिक बनाइदिनुस् । प्रमोटर र पब्लिक भनेर किन छुट्याइरहनु पर्यो र ?’, माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले भनेका थिए ।
प्रतिक्रिया दिनुहोस्