काठमाडौं । नेपाल राष्ट्र बैंकले असार असार मसान्तभि मर्जर तथा एक्विजिसनमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई सुबिधा थपिदिएको छ । एकीकृत निर्देशिका संशाेधन गर्दै राष्ट्र बैंकले २०८० असार मसान्तसम्ममा एकिकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई ६ वटा सुबिधा थपिदिएको हो ।
राष्ट्र बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशिका संशाेधनअनुसार मर्जर तथा एक्विजिसनमा जाने प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुले २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो सुबिधा दिनेछ ।
यी हुन ६ सुबिधा
(१) तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने ।
(२) सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने ।
(३) एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिने ।
(४) गाभ्नेरगाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने ।
(५) यस बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने ।
(६) एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरीभित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म यस बैंकको स्वीकृति आवश्यक नपर्ने ।
प्रतिक्रिया दिनुहोस्