Shikhar Insurance
National Life

औरही पालिकाद्वारा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १५:४६
Hyundai
NCELL
NIMB

लहान । सिरहाको औरही गाउँपालिकाले गर्भवती तथा सुत्केरीका लागि जिल्लाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । सो सेवा उपलब्ध भएपछि गर्भवती जाँच तथा प्रसूति गराउन आउने क्रम बढेको छ ।

गाउँपालिकाले एम्बुलेन्स खरिद गरी स्थानीय अस्पताल औरहीमार्फत सेवा प्रदान गरेको हो । ग्रामीण क्षेत्रका महिलालाई स्वास्थ्य संस्थामा गएर नियमित आफ्नो स्वास्थ्य परीक्षण तथा सुरक्षितरुपमा प्रसूति गराउन निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष शिवजी यादवले जानकारी दिए। उनका अनुसार गत वर्ष साउनदेखि सञ्चालित निःशुल्क एम्बुलेन्स सेवाबाट अस्पतालमै गएर सुरक्षित प्रसूति गराउनुपर्दछ भन्ने चेत क्रमशः बढ्दै गएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“घरमै बच्चा जन्माउने चलन कम गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको हो । अब कसैले पनि अस्पताल पुग्न ढिलाइका कारण ज्यान गुमाउनुपर्दैन”, अध्यक्ष यादवले भने, “गर्भवती तथा सुत्केरीको स्वास्थ्य संवेदनशील विषय हो । यसमा हाम्रो स्थानीय तहले उत्तरदायी भूमिका निर्वाह गरेको छ ।”

जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको आग्रहमा जिल्लाभित्र निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको छ । बिरामीको अवस्था हेरेर जिल्ला बाहिर रेफर गर्नुपरेमा रेडक्रसले तोकेअनुसारको सुलभ मूल्यमा भाडादर कायम गरिएको उनले जानकारी दिए।

एम्बुलेन्स सेवा निःशुल्क गरेपछि ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सहज भएको गाउँपालिकाका उपप्रमुख रेणुकुमारी यादव बताउँछन् । उनले भने, “आर्थिक अवस्था कमजोर भएका कतिपय सुत्केरीले बाटोमै तथा जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेका थिए । गर्भवती जाँच तथा सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन नसक्दा महिलामा विभिन्नखालका स्वास्थ्य समस्या देखिएकाले सुरक्षित मातृत्व सेवाका लागि निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गरिएको हो ।”

विपन्न तथा कमजोर आर्थिक अवस्था भएका गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान भएपछि नियमित अस्पतालमा गर्भअवस्था जाँच तथा प्रसूति गराउनेको सङ्ख्या वृद्धि भएको औरही अस्पतालका निमित्त प्रमुख सन्तोष यादवले बताए। यसरी अस्पतालमा प्रसूति गराउँदा एक जहार र नियमित गर्भावस्था जाँच गरेबापत ४ सय प्रदान गरिन्छ ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले गर्भवती, सुत्केरी, नवजात शिशु तथा आमा सुरक्षा कार्यक्रममार्फत आम नागरिकलाई अनुभूति हुने गरी कार्यक्रम अघि सारेको र यस्ता कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरीको अकालमै हुनसक्ने मृत्यु, जोखिमबाट बच्नसक्ने र मातृ तथा शिशु मृत्युदर शून्यमा झार्ने योजनालाई सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। यसअघि पालिकामा एम्बुलेन्स उपलब्ध थिएन ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्