काठमाडाैं। सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ ।
सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १७ वटा संस्थानले घाटा व्यहोरेका छन् । दुइटा संस्थानको कारोबार शून्य रहेको छ । हाल जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामै रहेको छ ।
समीक्षा प्रतिवेदनअनुसार नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावसायिक कारोबार भएको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन । व्यावसायिक कारोबार नभए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने भएकाले नोक्सानी व्यहोरिरहेका छन् ।
गत आर्थिक वर्षसम्ममा नाफामा सञ्चालित २५ वटा संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६ सय १०.९६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रूपैयाँ रहेकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ३६.२२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रूपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ९४.१५ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७८/७९ मा नोक्सानी समेतलाई समायोजन गर्दा १ अर्ब ५४ करोड २० लाख रूपैयाँ कायम भएको छ । नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा ६ अर्ब १५ करोड ५१ लाख रूपैयाँ लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो ।
सार्वजनिक संस्थानहरुको सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले कमी आई १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख रूपैयाँ पुगेको छ । सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा १ सय ७६.८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड ९२ लाख रूपैयाँ कायम भएको छ । सबै संस्थानको सञ्चित नाफामा ४२.९० प्रतिशतले कमी आई ५२ अर्ब ४० करोड ७८ लाख रूपैयाँ पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा शेयरधनी कोष र नेटवर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले वृद्धि भई ७ खर्ब ६१ अर्ब ३३ करोड २५ लाख रूपैयाँ पुगेको छ । समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.९७ प्रतिशतले वृद्धि भई ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख रूपैयाँ पुगेको देखिन्छ ।
गत आर्थिक वर्षको तुलनामा सेयर लगानी ४.५४ प्रतिशतले वृद्धि भई ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख रूपैयाँ पुगेको छ भने ऋण लगानी १४.४९ प्रतिशतले वृद्धि भई २ खर्व ८९ अर्व २३ करोड ७१ लाख रूपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्