Shikhar Insurance
National Life

घरखर्च चलाउन धौधौ कञ्‍चनपुरका महिला अहिले दिन्छन् श्रीमानलाई पकेट खर्च

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार ११:२१
Hyundai
NCELL
NIMB

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका सहकारीमा आबद्ध महिला व्यावसायिक कार्य गरेर आम्दानी गर्न थालेका छन् । व्यावसायिक तरकारी खेती, बंगुरपालन, बाख्रापालन, माछापालनलगायतको कार्य गरेर महिलाले आम्दानी गर्दै आएका हुन् ।

गाउँका महिला एकजुट भएर पहिला समूह निर्माण गरी रकम बचत गर्दै आएका थिए । समूहको रकम बढ्दै गएपछि महिलाले कलश महिला कृषि सहकारी संंस्था विधिवत रूपमा दर्ता गरी सञ्चालन गर्दै आएका छन् । पाँच वर्षअघिदेखि सञ्चालनमा आएको सहकारीको सम्पूर्ण व्यवस्थापनको कार्य महिलाले गर्दै आएका छन् । सहकारीको सञ्चालक, सेयर सदस्यदेखि व्यवस्थापक महिला छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहकारीमा आबद्ध १ सय ५० महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि चारवटा समूहमा विभाजन गरिएको छ । समूहमा भएको छलफलका आधारमा व्यावसायिक कार्य गर्नका लागि ऋण प्रवाहको कार्य हुने गरेको छ ।

व्यावसायिक कार्यमा संलग्न महिलाले आम्दानीको रकम जम्मा गरी घर खर्च चलाउने कार्यसँगै पक्की घर निर्माणमा खर्च गर्दै आएका छन् । सहकारीमा आबद्ध हुनुअघि गाउँका महिलाले श्रीमानले मजदुरी गरी ल्याएको रकममा भर पर्नु पर्थ्यो । एकजुट भएर सहकारीमा आबद्ध भएपछि बेलडाँडी गाउँका महिलाको दिनचर्या नै फेरिएको छ । “पहिला घर खर्च चलाउन श्रीमानसँग पैसा माग्नु पर्थ्यो”, सहकारीका सदस्य राधा चौधरीले भनिन्, “हाल श्रीमानको पकेट खर्च हामीले धान्ने गरेका छौँ ।”

तरकारी खेती, बाख्रापालनलगायतको कार्य गरी खेत जोत्नका लागि ट्रयाक्टर खरिद गरेको उनले बताइन् । उनका अनुसार व्यावसायिक कार्यबाट वर्षमा सात लाखदेखि १० लाख रूपैयाँसम्मको आम्दानी हुने गरेको छ । सहकारीका अध्यक्ष मीनादेवी डगौराले सहकारीमा आबद्ध महिलालाई आवश्यकताका आधारमा ऋण उपलब्ध गराउने व्यवस्था रहेको बताइन्र ।

“ऋण माग गर्ने सहकारीमा आबद्ध महिलाको घरमै पुगेर आवश्यकता भए नभएको यकिन गर्छौं”, उनले भनिन्, “त्यसपछि मात्रै ऋण दिन्छौं, गाउँका सबै महिलालाई आत्मनिर्भर बनाउनका लागि प्रयासरत रहेका छौं ।”

सहकारीमा आबद्ध हुनुअघि गाउँका महिलाको कच्ची घरमात्रै थिए । सहकारीमा आबद्ध भएर कृषिजन्य व्यावसायिक कार्य गर्न थालेसँगै आम्दानी बढ्दै गएपछि सबै जनाले पक्की घर ठड्याएका छन् । सहकारीमा आबद्ध बिना चौधरीले व्यावसायिक तरकारी खेतीबाट घर निर्माणसँगै परिवारको खर्च, बालबालिकालाई पढाउँदै आएको निजी विद्यालयको खर्च धान्दै आएको बताइन् । उनले खेत जोत्नका लागि पावरटिलर, तरकारी बजारसम्म पुर्याउनका लागि अटो र धान कुटने मेसिन खरिद गरेकी छन् ।

“घरका पुरुष पहिला मजदुरी गर्थे”, उनले भनिन्, “महिलाले घरायसी चुलोचौका र मेलापातमै सीमित हुनुपर्थ्यो, सहकारीमा आबद्ध भएपछि व्यावसायिक कार्य गर्न थालेपछि आर्थिक रूपमा सवल बन्दै गएका छौं ।” पहिला साहूसँग कर्जा माग्न जाने गरेको उल्लेख गर्दै उनले व्यावसायिक तरकारी खेती गर्न थालेपछि पैसा अभाव खेप्नु नपरेको बताएन् । सहकारीका सम्पूर्ण सदस्य व्यावसायिक कार्यमा संलग्न छन् ।

व्यावसायिक कार्य गर्नेलाई मात्रै सहकारीको सदस्यता दिइने गरेको छ । सहकारीमा आबद्धमध्ये ९६ महिला व्यावसायिक कार्यमा संलग्न छन् । ४६ व्यावसायिक कृषि कार्यमा र ५० महिला व्यावसायिक पशुपालनमा संलग्न छन् । अन्य सहकारीमा आबद्ध महिलाले थोरै जग्गा भए पनि तरकारी खेती गर्दै आएको सहकारीका सचिव रुपाकुमारी चौधरीले बताइन् । सचिव चौधरीले माछा, बंगुर, बाख्रा र हाँसपालन गर्दै आएकी छन् ।

व्यावसायिक तरकारी खेती र पशुपालनका लागि सहकारीबाट २ लाख रूपैयाँसम्म कर्जावापतको रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । व्यावसायिक कार्यमा संलग्न महिलाले तरकारी खेती र पशुपालनको बिमासमेत गरेका छन् । तरकारी खेती र पशुपालनमा आकस्मिकरूपमा क्षति भएमा बिमाबाट रकम क्षतिपूर्तिका रूपमा महिलाले पाउने गरेका छन् । बिमा गरेवापतको रकममध्ये ८० प्रतिशत बिमा कम्पनीले र २० प्रतिशत रकम कृषिजन्य कार्यमा संलग्न महिलाले व्यहोर्ने गरेका छन् ।

क्षतिको यकिन गर्न सहकारीमा आबद्ध महिलाकै नेतृत्वमा बिमा समिति गठन गरिएको छ । सोही समितिले क्षतिको अवस्था निर्धारण गरेको आधारमा क्षतिपूर्तिको रकम पाउने गरेका छन् । सहकारीमा आबद्ध आसमती चौधरी बिमा गर्ने व्यवस्था सुरु भएसँगै ढुक्कसँग तरकारी खेती गर्न सकिएको बताउँछिन् । “तरकारी बालीमा क्षति भए बिमाबाट रकम आउँछ”, उनले भनिन्, “पहिला जस्तो तरकारी खेतीमा लगानी डुब्ने अवस्था छैन ।”

सहकारीमा आबद्ध महिलाकै कारण चुरे फेदीको बेलडाँडी अहिले तरकारी खेती हुने गाउँका रूपमा परिचित भएको छ । जागरुक महिलाको प्रयासले घर खर्च चलाउनका लागि भारतीय बजारमा दरवान र कुल्ली भएर काम गर्ने पुरुष अहिले महिलासँगै तरकारीका बिरुवा रोप्ने, गोडमेल गर्ने, तरकारी टिपेर बजारसम्म बिक्री गर्न जाने गरेका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्