Skip to content
Shikhar Insurance
National Life

रसुवामा ट्राफिक कारबाहीबाट ४० लाख जरिवाना असुल

Hyundai
NCELL
NIMB

रसुवा। पासाङल्हामु मार्गअन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारी साधन दिनहुँ ट्राफिक कारबाहीमा पर्न थालेका छन् । ऐन नियमको पूर्णपालना गरी सवारीसाधन सञ्चालन गर्न ट्राफिक प्रहरीको अनुरोधलाई बेवास्ता गर्ने सवारी चालक कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीले पटक-पटक अनुरोध गर्दा यातायात व्यवस्था कार्यालयको अनुमति नल्याउने, सवारी साधन गुडाउँदा साथमा बिलबुक नराख्ने, सवारी चालक अनुमतिपत्र नल्याउने गरेका कारण ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको हो । यसरी कारबाही पर्नेमा मोटरसाइकलदेखि सानाठूला सबै प्रकारका सवारी साधन छन् ।

गत साउनदेखि वैशाख मसान्तसम्म कुल ३ हजार ८ सय ७० सवारी साधन कारबाहीमा परेका छन् । ती सवारी साधनमध्ये ट्रक, टिपर एक हजार ९ सय ३८, यात्रुबाहक बस एक सय ५८, कार, जिप, भ्यान जस्ता हल्का सवारी ८ सय ९४ र मोटरसाइकल ८ सय ८० रहेको ट्राफिक प्रहरीका अभिलेखकर्ता जयराम लामिछानेले बताए ।

साना सवारी साधनका चालकले ठूलाठूला कन्टेनरसमेत चलाई अनियमित गरेको भेटिन थालेपछि ट्राफिक परीक्षण कार्यलाई निरन्तररूपमा तीव्रता दिइएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए। सवारी नियम उल्लंघन गर्ने सवारी चालकउपर कारबाहीस्वरूप जरिवाना मात्र गर्ने प्रावधानअनुरूप १० महिनाको अवधिमा असुल गरिएको  ४० लाख ६५ हजार रूपैयाँ जरिवाना राज्य कोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

चालु आवको १० महिनाको अवधिमा रसुवाका विभिन्न भागमा सानाठूला गरी १७ सवारी साधन दुर्घटना भएको बताइएको छ । बेत्रावती, मैलुङ स्याफ्रुबेँसीतर्फका नदी किनारको निर्माणाधीन सडकबाट मालवाहक कन्टेनर डिब्बा ओहोरदोहोर भइरहेकाले उक्त क्षेत्रमा पनि ट्राफिक परीक्षण तीव्र पारिएको ट्राफिक प्रहरी हवल्दार हरिचन्द्र दुलालले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्