काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन् ।सञ्चालक समितिको जेठ २ गते मंगलबार बसेको बैठकले जेठ ३ गते बुधबारदेखि लागू हुने गरी आगामी ४ वर्ष अवधिका लागि उपाध्यायलाई नियुक्त गरेको हो ।
उपाध्याय नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हँुदै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बिमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन्।
व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ ।
धनकुटा जिल्ला धनकुटा नगरपालिका–७ धनकुटा बजारमा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका–१ पुष्पलालचौक विराटनगर, मोरङमा कर्पोरेट कार्यालय रहेकोे वित्तीय संस्थाले कोसी प्रदेशका १२ वटा जिल्लामा ३३ वटा शाखा कार्यालयमार्फत २० हजारभन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्