Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री दाहाल र महानिर्देशक डा बरमेजोबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

आज भएको भेटमा उनीहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गरेको भेटमा सहभागी नेपाल परिवार नियोजन संघका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले महासंघले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिएका थिए।

महानिर्देशक डा बरमेजोले महासंघले आगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने बताएका थिए। भेटमा नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल कसजू, महासंघका दक्षिण एसियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता, प्राविधिक सल्लाहकार डा हरजोत खोसा सहभागी थिए ।

महासंघ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कामा गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । महासंघमा विश्वका एक सय ८९ देशका परिवार नियोजन संघ आबद्ध छन् ।

नेपाल परिवार नियोजन संघले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । मूलतः गरिब, सीमान्तीकृत, सामाजिक रूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासंघले विश्वभर आफ्ना सदस्य–सङ्घमार्फत लगानी गर्दै आएको छ ।

हाल नेपाल परिवार नियोजन सङ्घले विभिन्न ४३ जिल्लाका तीन सय एक पालिकामा रहेका क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्द्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्