काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन दिएका कम्पनीहरुको मूल्यांकनका लागि समिति गठन गरेको छ । बोर्डका अध्यक्ष रमेश हमालका लागि आइतबार बसेको सञ्चालक समिति बैठकले मूल्यांकन समिति गठन गरेको हो ।
मूल्यांकन समिति संयोजकको जिम्मेवारी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमलाई दिईएको छ । बोर्डमा रहेका सञ्चालकहरुमध्ये बरिष्ठ सहसचिवका रुपमा गौतमलाई संयोजक बनाईएको हो ।
समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक रहेका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री सदस्य छन् । समितिमा बोर्डका तर्फबाट भने कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उप कार्यकारी निर्देशक अम्बिका गिरी सदस्य रहेका छन् ।
समितिले आफ्नो कार्यबिधि आफैं बनाएर समय सिमा तोकि मूल्यांकन गर्नेछ । नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक, नेशनल स्टक र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका छन् ।
दुई वटा कमोडिटी एक्सचेञ्ज कम्पनीको लाइसेन्सका लागि चार वटा कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले तोकेको आवेदन दिन अन्तिम दिनसम्म्ममा चार वटा कम्पनीहरुले आवेदन दिएका हुन् ।
बोर्डका अनुसार कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि मल्टि डेरिभेटिभ एक्सचेज लिमिटेड, मल्टि एसेट्स एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड र नेपाल मल्टि कमोडिटी एक्सचेञ्ज लिमिटेड रहेका छन् । यी चारमध्ये दुई वटा कम्पनीले मात्रै कमोडिटी एक्सचेञ्जको लाइसेन्स पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्