Shikhar Insurance
National Life

कैलाली भन्सार कार्यालयले वार्षिक लक्ष्यको झण्डै ४९ प्रतिशत राजस्व असुली

सिंहदरबार संवाददाता
२०८० बैशाख १३, बुधबार १८:४४
Hyundai
NCELL
NIMB

सुदूरपश्चिम । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९र८० को चैत महिनासम्म ६ अर्ब ३० करोड ४३ लाख ४९ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु वर्षको चैत महिनासम्म भन्सार महसुल २ अर्ब ३१ करोड ७४ लाख ६५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर २ अर्ब ६१ करोड ६१ लाख ८८ हजार रुपैयाँ, अन्तःशुल्क १६ करोड १७ लाख ६० हजार रुपैयाँ र अन्यतर्फ १ अर्ब २० करोड ८९ लाख ३६ हजार रुपैयाँ असुली भएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चैतसम्म भएको असुली वार्षिक असुली लक्ष्यको ४९.२२ प्रतिशत हो । चैतमा असुली दर अन्य महिनाको तुलनामा उत्साहजनक देखिएको छ । यो एक महिनामा असुली दर ७७.३२ प्रतिशत पुगेको थियो । चालु वर्षमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) अन्तःशुल्क र अन्यसमेत गरी वार्षिक असुलीको लक्ष्य १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार रुपैयाँ लक्ष्य राखिएको छ ।

योमध्ये भन्सारतर्फ ४ अर्ब, ७४ करोड, ३१ लाख ६७ हजार, भ्याटतर्फ ४ अर्ब ४७ करोड २० लाख २७ हजार, अन्तःशुल्कतर्फ रु ३२ करोड ३२ लाख ७४ हजार र अन्यतर्फ २ अर्ब ७६ करोड ८२ लाख १० हजार रुपैयाँ असुलीको लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०७८र७९ मा कार्यालयले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, र अन्यमा समेत गरी लिइएको लक्ष्यको ८१ प्रतिशत अर्थात् ९ अर्ब ५८ करोड २६ लाख ५० हजार रुपैयाँ असुली गरेको थियो । उक्त वर्ष ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार असुलीको लक्ष्य राखिएको थियो।

सुदूरपश्चिम प्रदेशमा राजस्व सङ्कलन हुने मुख्य नाका कैलाली भन्सार कार्यालय हो । यो कार्यालयअन्तर्गत विगतमा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रको पृथ्वीपुर, परासन, भडरी, कनरी, घुइँयाफाँटा, बर्दवा, सोनाफाँटा क्षेत्रमा छोटी भन्सार कार्यालय सञ्चालनमा थिए । सशस्त्र द्वन्द्व चर्केको बेलादेखि यी कार्यालय बन्द अवस्थामा छन् । पुनः सञ्चालनको आवश्यक नभएको महसुस गरेर नै सरकारले यी छोटी भन्सार कार्यालय सञ्चालन र व्यवस्थापन नगरेको हुनसक्ने प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले बताए।

कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी छोटी भन्सार कार्यालय पनि यसै भन्सार कार्यालयअन्तर्गत रहेको छ । कैलाली भन्सारको नाका हुँदै मुख्यरुपमा पेट्रोलियम पदार्थ, मिल मेसिनरी, खाद्यान्न, बिस्कुट, मोटरपार्टस, र औद्योगिक कच्चा पदार्थलगायतका वस्तु आयात हुन्छन् । रोजिन एण्ड टर्पेन्टाइन, खरी ढुङ्गा र कत्थाजस्ता वस्तु निर्यात हुन्छन् ।

विगतमा वार्षिक ठूलो परिमाण र मूल्यमा आयात हुने भारतीय सिमेन्ट कम्पनीको सिमेन्टको आयात भने पछिल्ला वर्षमा रोकिएको छ । स्थानीय बजारमा नेपाली सिमेन्टको माग र प्रयोग बढ्न थालेपछि भन्सार नाकाबाट भित्रिने भारतीय सिमेन्टको आयात रोकिएको हो ।

सेवाग्राहीको सुविधाका लागि भन्सार कार्यालय परिसरमा राजस्व दाखिला गर्न बैंकको सुविधाका साथै आयात निर्यातको लागि नजिकै पशु क्वारेन्टाइन कार्यालय, प्लान्ट क्वारेन्टाइन र खाद्य क्वारेन्टाइनका कार्यालयसमेत सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्