काठमाडौं । मर्जरको अन्तिम स्वीकृति माग्दै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बीमा प्राधिकरण पुगेको छ । तीन वटा जीवन बीमा कम्पनीहरु मिलेर हिमालयन लाइफ बन्न लागेका छन् । ठूला व्यवसायीक घरानाहरु जोडिएको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भएर हिमालयन लाइफ बन्न लागेको हो । यी कम्पनीहरुले बराबर स्वाप रेसियोमा मर्ज गर्ने समझदारीत्रमा हस्ताक्षर गरेका थिए ।
तीनै कम्पनीको संयुक्त मर्जर कमिटीले हिमालयन लाईफका नामबाट कारोबार गर्ने सम्झौता माघ १ गते नै गरेका थिए । हिमालयन लाइफको अध्यक्षमा युनियनका सुलभ अग्रवाल र सिईओमा पनि युनियन कै मनोज कुमार कर्ण रहनेछन् । त्यस्तै गुराँस लाइफका सिईओ र प्राइम लाइफका कामु सिईओ डेपुटी सिईओको रुपमा हुनेछन् ।
तीन जीवन बीमा कम्पनीहरूले एकापसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा बैशाख २९ गते हस्ताक्षर गरेका थिए । तीन कम्पनी मर्ज भएर बन्ने हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।
हिमालयन लाइफले नेपालका ठूला व्यावसयीक घरानाहरुलाई जोड्नेछ । हिमालयनमा राजेन्द्र खेतान, शंकर ग्रुप, शेखर गोल्छा, एमभी दुगड समुह एक ठाउँमा जोडिनेछन् ।
पछिल्लो समय हिमालयन रिको लाइसेन्स लिएको समुहले ‘हिमालयन’ ब्राण्डमा व्यवसायीक साम्राज्य खडा गर्ने प्रयास गरिरहेको छ । व्यवसायी दिपक भट्टको अगुवाईमा हिमालयन रिको लाइसेन्स हासिल गरेको समुहले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएको छ । सोही समुहले हिमालयन ब्राण्डमै कमोडिटी एक्सचेञ्जका लागि समेत आवेदन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्