काठमाडौं । विदेशी लगानी तथा प्रविधि सरल तरिकाले भित्र्याउन उद्योग विभागले कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।
चालू आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यको बुँदा नं ६६ मा १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाईने उल्लेख भए अनुसार उक्त ब्यवस्था गरिएको उद्योग विभागले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
साविकमा भौतिक फायल मार्फत मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएकोमा २०७९ श्रावण १ गते देखि अनलाईन प्रणाली मार्फत् विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरिएको थियो । यस प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै नेपाल सरकारका सम्बद्ध निकायहरुसँग आवद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी विभागले तयारी पुरा गरेको छ ।
हाललाई २ करोड देखि १० करोड रुपैयाँ सम्मको परियोजना प्रस्ताव भएका तोकिएका उद्योगहरूमा यस प्रणाली मार्फत् विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दाकै बखतबाट कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको छ । भारत, बङ्गलादेश लगायतका हाम्रा छिमेकी मुलुकहरुमा समेत यो प्रणाली लागू भईसकेकाले नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको जनाएको छ।
यस प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आईरहनु नपर्ने हुँदा विदेशी लगानी स्वीकृति प्रक्रिया सरल तथा सहज हुन गई सेवाप्रवाह थप प्रभावकारी हुने विभागको आशा रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्