काठमाडाैं । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाइन् । उनले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने बताइन् ।
सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेश विपरित भएको, यसले कृषिभूमि समाप्त पार्ने बाटो खोल्ने, जमिनको दलालीकरण बढाउने पनि उल्लेख गरिन् ।
मन्त्रिपरिषद्ले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद् भएको भन्दै सांसद सुब्बाले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षण समेत गराइन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको थियाे । सरकारले अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ताकाट खुला गरेकाे बताएकाे थियाे । प्रधानमन्त्री प्रचण्डले जग्गाको कित्ताकाट बन्द हुँदा अर्थतन्त्रमा शिथिलता आएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्