खोटाङ । जन्तेढुङ्गा गाउँपालिकामा पालिएका गाईभैँसीमा लम्पी स्किन रोगको महामारी फैलिएपछि किसान चिन्तित बनेका छन् । गत माघ मसान्तदेखि गाउँपालिकाका सबै वडामा गाईभैँसीलाई लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोगको महामारी फैलिएको हो ।
गाई भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने रोगको महामारी देखिएको गाउँपालिकाका पशुशाखा प्रमुख डा सुशन ढकालले जानकारी दिए ।
“गाई भैँसीमा लागेको रोगको समस्या लिएर करिब एक सय जना किसान कार्यालयमा आइसकेका छन् । उनीहरूलाई आवश्यक औषधि तथा विषादी दिएर पठाउने गरिएको छ”, उनले भने, “लम्पी स्किन रोग नियन्त्रणका लागि भनेर अहिलेसम्म ठोस उपचार र भ्याक्सिन विकास नभएकाले तत्कालै उपचार गर्न समस्या भएको छ ।”
छ वडा रहेको जन्तेढुङ्गा गाउँपालिकाको सबै वडाका किसानले पालेका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिसकेको स्थानीय बासिन्दाले बताएका छन् । रोग लागेका पशुलाई सार्वजनिकस्थलमा चरणका लागि लैजान नहुने र रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गरेपछि नियन्त्रणमा सहज हुने पशु विज्ञले बताएका छन् ।
कतिपय किसानलाई लम्पी स्किन सार्ने झिङ्गा, लामखुट्टे र किर्ना मार्ने विषादी वितरण गरिएको गाउँपलिकाले जनाएको छ । विज्ञका अनुसार लामखुट्टे, भुसुना, झिङ्गा आदिको टोकाइबाट गाईभैँसीमा लम्पी स्किन सर्ने गरेको बताइएको छ ।
जन्तेढुङ्गा गाउँपालिकामा पालिएका पशुचौपायामध्ये सबैभन्दा बढी गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको स्थानीय यामबहादुर राईले बताए । “पहिलेपहिले साउने लागेको भनिन्थ्यो । उसबेला हप्ता/दश दिनमा पूर्णरूपमा ठीक हुन्थ्यो”, उनले भने, “अहिले एक पटक रोग लागेपछि लामो समयसम्म जिम्लिरहन्छ ।
सबैभन्दा बढी गोरुहरूमा रोगको लक्षण देखिएपछि समस्या भएको छ ।” भारतबाट विसं २०७७ मा मोरङ हुँदै हाल देशका सबैजसो जिल्लामा लम्पी स्किन रोगको प्रकोप फैलिसकेको पाइएको छ । यो रोग सर्वप्रथम सन् १९२९ मा अफ्रिका महादेशको जाम्बियामा देखिएको थियो ।
पूर्वी पहाडी जिल्ला खोटाङका अधिकांश स्थानीय बासिन्दाले आफ्नो आम्दानीको प्रमुख स्रोतकारूपमा पशुपालन गर्दै आएका छन् । छिमेकी स्थानीय तहका किसानले पालेका गाई भैँसीमा महामारीका रूपमा लम्पी स्किन रोगको प्रकोप फैलिएपछि आसपासका किसानसमेत चिन्तित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्