काठमाडौैं । अर्थमन्त्री डा.प्रकाश शरण महतले बैंकहरुको ब्याजदर घट्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले ब्याजदर घटाउने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल भैरहेको बताएका हुन् ।
‘ब्याजदर घटाउने, कर्जा लिएर अप्ठेरोमा परेका व्यवसायीलाई राहत दिने बेला भएको छ । न्युन ब्याजदरमा ऋण लिएर अहिले धेरै ब्याज तिर्नुपर्ने बाध्यता हटाउने समय भएको छ । समस्यामा परेका व्यवसायीहरुको ऋणलाई पुनर्तालिकीकरण गर्ने कुरा भएको छ ।’ अर्थमन्त्री डा. महतले भने ।
उनले निक्षेप र कर्जाबीचको ब्याजदर अन्तरका विषयमा पनि पुनर्विचार हुने बताए । ‘औपचारिक अनौपचारिक रुपले राष्ट्र बैंकसँग कुराहरु भैरहेका छन् । व्यवसायीका समस्या चाँडै हल हुनेछ । निक्षेप र कर्जाको ब्याजदर बीचको अन्तर पनि घटाइनेछ’, डा. महतले भने ।
उनले लगानीका लागि बैंकबाट लिने ऋणको ब्याजदर घट्ने ठोकुवा पनि गरे । साथै उद्यम व्यवसायका लागि ऋण लिएकाहरुले व्यवसायबाट अम्दानी गरेर सहजै ऋण तिर्न सक्ने वातावरण बन्नेमा ढुक्क हुन पनि आग्ह गरे ।
अर्थतन्त्रको गतिशिलता बढाउन जग्गाको कित्ताकाट खोल्ने र घरजग्गा कारोबारमा सहजीकरण गर्ने निर्णय पनि सरकारले गर्न लागेको बताए । ‘कित्ता काट रोक्ने निर्णय खोल्ने निर्णय पनि हुँदैछ । घर जग्गाको मन्दि र निर्माण क्षेत्रको मन्दी हटाउनेबारे पनि निर्णय हुँदैछ ।’ मन्त्री डा. महतले भने ।
प्रतिक्रिया दिनुहोस्