काठमाडौं । के तपाईलाई बजेटमा आफुले सोचेका केहि नविन र देशको अर्थतन्त्रका लागि टेवा पुग्ने विषय छुट्नु हुन्न भन्ने लागेको छ ? के तपाईसँग अर्थतन्त्रको संरचनागत सुधारका लागि केहि नयाँ उपाय छन् ? करका दायराहरु फराकिला बनाउने कुनै आइडिया सोच्नु भएको छ ?
त्यस्तो केहि सोच्नु भएको छ भने तपाईलाई लागेका बिषयहरु लिपिवद्ध गरि पठाउनुस्, आगामी आर्थिक वर्षको बजेटमा समेटिने सम्भावना छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटका लागि आम सर्वसाधारणहरुबाट सुझाव मागेको छ । मन्त्रालयले सार्वजनिक सूचना नै प्रकाशित गरि बजेटका लागि आवश्यक सुझाव बुझाउन आव्हान गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार नागरिकस्तरबाट प्राप्त उपयुक्त सुझावहरु बजेटमा समेटिने छन् ।
उनले भने–‘यो बजेटमा नागरिक स्वामित्व बढाउने माध्यम पनि भएको हुँदा नागरिकस्तरबाट तथ्यपरक रुपमा प्राप्त हुने मुलुक र अर्थतन्त्रको समृद्धिका लागि उपयुक्त सुझावहरु पठाउन आग्रह गरिएको हो ।’ मन्त्रालयले बैशाख १५ गतेभित्र बजेट सम्बन्धी सुझाव बुझाउन भनेको छ । त्यसका लागि मन्त्रालयको तोकिएको इमेलको प्रयोग गर्न सकिन्छ भने मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेशन ट्याब’ प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले चैत २४ गते शुक्रबारका दिन बजेत लेखन मस्यौदा समिति गठन गरिसकेका छन् । सहसचिव भुपाल बरालको नेतृत्वमा अन्य सहसचिवहरु उत्तर बहादुर खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् । सरकारले हरेक बर्षको जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन संघीय सरकारको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि अर्थमन्त्रीले मन्त्रालयका बरिष्ठ सहसचिवहरुलाई समेटेर बजेट लेखन मस्यौदा समिति गठन गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्