रसुवा । रसुवागढी नाका अन्तरगत टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ । पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर(खम्बा) वाल निर्माण गरी भोटेकोसी नदीमा तटबन्ध गर्ने काम तीव्ररूपले अगाडि बढेको हो ।
चीन सरकारको सहयोगमा विगत ४ वर्ष अगाडिदेखि निर्माण शुरू गरिएको सुख्खा बन्दरगाहको निर्माणकार्य तिब्वत फुल्ली नामक चिनियाँ निर्माण व्यवसायी कम्पनीले गरिरहेको छ । चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा निर्माणाधिन सुख्खा बन्दरगाहको पहिलो चरणमा भएको भोटेकोसी तटबन्धका सिमेन्ट पर्खालको काम ८० प्रतिशत पूरा भइसकेको र समग्रको निर्माण काम भने ३० प्रतिशत पूरा भएको निर्माणमा सङ्लग्न प्राविधिकहरूले बताएका छन् ।
५० हजार ९ सय वर्ग मिटर क्षेत्रफल ओगटेको सो सुख्खा बन्दरगाह निर्माणमा ८० जना मजदुर कार्यरत रहेको तिब्वत फुल्ली कन्ट्रक्सनका मेनेजर ईउ हाइयाङले जानकारी दिएका छन् । ३ सय १३ ठुला कन्टेनर र साना २३ वटा जिपकार भ्यान राख्ने क्षमताको उक्त सुख्खा बन्दरगाहमा व्यवस्थापकीय भवनसमेतका संरचना निर्माण गरिने बताइएको छ ।
कोरोना सङ्क्रमणका कारण निर्माणमा ढिलाई भएको टिमुरेको सुख्खा बन्दरगाहको बाँकी निर्माण कार्य छिट्टै सम्पन्न गरी आगामी सन् २०२५ को जुनसम्म बुझाइने निर्माण कम्पनीका प्रतिनिधिले प्रतिबद्धता गरेका छन् । छिटोभन्दा छिटो काम सम्पन्न गर्न चीनबाट थप कामदार ल्याइने र निर्माणस्थलको उत्तरतर्फका दुई वटा विद्युत् खम्वा हटाइदिन गरिएको अनुरोध बेवास्ता भएका कारण काममा बाधा परिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्