काठमाडौं । तीन वटा वाणिज्य बैंकहरुले संस्थागत समाजिक उत्तरदायित्व(सीएसआर)को ठुलो रकम प्रहरीलाई बुझाएपछि सदुपयोगको प्रश्न उठेको छ । ग्लोबल आइएमई, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले सीएसआरको क्रमशः २५/२५ र ३० लाख रुपैयाँ नेपाल प्रहरीलाई दिएका थिए । गरिब र पिछडिएको क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका कममा खर्च गर्न भन्दै बैंक तथा वित्तिय संस्थाहरुले नाफाको एक प्रतिशत रकम छुट्याउनुपर्ने व्यवस्था छ । तर बैंकहरु पछिल्लो समय सुरक्षा निकाय रिझाउन सीएसआरको रकम दुरुपयोग गरिरहेका छन् ।
ग्लोबल आइएमई बैंकले २०७९ फागुन ५ गते नेपाल प्रहरीलाई एकमुष्ठ २५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । त्यस्तै, एभरेष्ट बैंकले २०७९ फागुन २० गते नेपाल प्रहरीका विद्यालयहरुमा अध्ययन गर्नेहरुका लागि छात्रवृद्धि दिन भन्दै २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । दुई ठुला वाणिज्य बैंकहरुले प्रहरीलाई रिझाएपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि त्यहि बाटो रोजेको थियो । बैंकका सिईओ किरण कुमार श्रेष्ठले चैत १५ गते प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
यसरी सीएसआरको रकम जथाभावी खर्च हुन थालेको प्रति नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले चिन्ता व्यक्त गरे । उनले खाता खोल्ने अभियानमा स्वयं सरकारले नै सीएसआरको रकम प्रयोग गरेकोमा पनि आश्चर्य प्रकट गरेका छन् । सीएसआरको रकम जुन उदेश्यका लागि छुट्याईएको हो, सोही अनुसार खर्च भए। नभएको हेर्ने जिम्मा राष्ट्र बैंकको भएको पनि उनले बताए । हाल राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आर्थिक सल्लाहकार समेत रहेका डा. नेपालले गरिब र पिछडिएको क्षेत्रमा खर्च गर्न भनि छुट्याईएको रकमको दुरुपयोग तत्काल रोकिनुपर्ने पनि बताए ।
उता, नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले सीएसआरको रकमको सदुपयोगबारे बैंकहरु सचेत हुनुपर्ने बताए । नेपाल राष्ट्र बैंकको नियम अनुसार प्रत्येक प्रदेशमा न्युनतम १० प्रतिशतका दरले निश्चित क्षेत्रमा खर्च गर्नुपर्ने नियम रहेको र सोही अनुसार काम भैरहेको उनको दावी छ । तर राष्ट्र बैंकले अनुमति दिएमा बैंकहरुले सीएसआरको रकमबाट ठूला काम गर्न पनि तयार रहेको बताए । ‘राष्ट्र बैंकले अनुमति दियो भने हामी ठूला र भविष्यसम्म रहिरहने परियोजनाहरुमा काम गर्न पनि तयार छौं, एकिकृत कोष बनाएर काम गर्न सकिन्छ’, माछापुच्छ्रे बैंकका सिईओ समेत रहेका कोइरालाले सिंहदरबारसँग भने । हाल वाणिज्य बैंकहरुले मात्रै प्रति वर्ष ६५ करोड हाराहारीमा सीएसआरको रकम खर्च गर्छन् । त्यस्तो रकमको उपलब्धि भने हालसम्म खोजिएको देखिन्न ।
यसरी सुरु गरेको थिएँ सीएसआर
डा. चिरञ्जीवी नेपाल, पूर्व गभर्नर तथा प्रमुख आर्थिक सल्लाहकार, राष्ट्रपति
भूकम्प लगत्तै मलाई बंगलादेशका गभर्नर अतुल रहमानले समवेदना पत्र पठाए । त्यसमा ६२ हजार कम्बलसहितका समान पनि थिए । उनले पत्रमा आफ्नो देशको गार्भेन्ट कम्पनीमा आगो लागेर ११ सय मजदुरको निधन हुँदा बैंक तथा वित्तिय संस्थाहरुबाट डेढ अर्ब रुपैयाँ उठाएर सरकारलाई सहयोग गरेको कथा पनि उल्लेख थियो । नेपालमा पनि बैंक वित्तिय संस्था धेरै छन्, त्यसरी सहयोग जुटाउन सकिन्छ भनेपछि मैले त्यतिबेलै बैंकका अध्यक्ष र सिईओहरुलाई र्याडिसन होटलमा भेला गरेर सहयोग गर्नुस भनेको थिएँ । २ महिना बितिसक्दा पनि १२।१३ करोड रुपैयाँ मात्रै जम्मा भयो । त्यतिबेला करिब ३०० को हाराहारीमा बैंक वित्तिय संस्था थिए । उहाँहरुले सहयोग गर्न खासै रुची देखाउनु भएन् । जनताबाट उठाएको पैसाको नाफाको केहि हिस्सा नागरिक मै पठाउनुस् भन्दा मान्नु भएन् ।
त्यसपछि मैले नै मौद्रिक नीतिमा नाफाको एक प्रतिशत रकम सिएसआरमा छुट्याउनुपर्ने व्यवस्था गरिदिएको थिएँ । अहिले त्यसमा अहिले सरकारको पनि आँखा लागेको देखियो । हामीले गरिब, पिछडिएको क्षेत्रमा खर्च गर्नु भनेका थियौं । गरिब दुर्गम ठाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता ठाउँमा खर्च गर्नु भनेका थियौं । केपी ओली प्रधानमन्त्री हुँदा त खाता खोल्ने अभियानमा पनि त्यहि सीएसआरको पैसा खर्च गरियो । सीएसआरको पैसाको सहि सदुपयोग गरिनुपर्छ । त्यत्रो ठूलो रकमको उपलब्धि खोज्ने जिम्मा राष्ट्र बैंकको हो ।
हामी ठूला परियोजना र देखिने काम गर्न तयार छौं
सन्तोष कोइराला, उपाध्यक्ष नेपाल बैंकर्स संघ तथा सिईओ माछापुच्छ्रे बैंक
सीएसआरको रकमको कसरी धेरै सदुपयोग गर्ने भनेर छलफल भैरहेको छ । नेपाल राष्ट्र बैंकले अहिले सातै प्रदेशमा कम्तिमा १० प्रतिशतका दरले खर्च गर्नुपर्ने भनेको छ । माछापुच्छ्रे बैंकले त केहि ठूला काम पनि गरेको छ । गंगालाल अस्पतालमा हामीले बालबालिकाका लागि आईसीयु ब्लक नै बनाएका छौं । एम्बुलेन्स, सरकारी स्कुल कलेजका भवन पनि बनाएका छौं । सबै बैंकहरुले यसरी नै काम गरिरहेका छन् ।
अब के गर्ने ?
भोलीका दिनमा सबै बैंकहरु मिलेर ठूलो काम गरौं, राष्ट्रलाई नै ठूलो योगदान दिनुस् भनेर राष्ट्र बैंकले भन्यो भने हामी बैंकर त्यसका लागि पनि तयार छौं । ६४।६४ करोडमा ठूलै काम गर्न सकिन्छ । सीएसआरको निश्चित प्रतिशत शाखाहरुबाट खर्च गर्ने र बाँकी पैसाले सबै मिलेर ठूलो काम गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्