वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिना अवधिमा १ करोड ८९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ हजार दुई सय सवारीसाधनमाथि कारबाही गरी १ करोड ८९ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए ।
यस्तै चालु आव २०७९/८० को ८ महिनामा पर्सा जिल्लामा भएको दुई सय ८१ वटा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । पर्साको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा २७ पुरुष, तीन महिला, तीन बालक गरी ३३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्