Shikhar Insurance
National Life

प्रहरी फकाउन सीएसआरको रकम बुझाउँदै बैंकहरु, कल्याण कोषको निक्षेप तान्ने दाउ पनि

सिंहदरबार संवाददाता
२०७९ चैत्र १६, बिहीबार ०९:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर)को रकम दुरुपयोग गर्ने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकले गरिब तथा पिछडिएको क्षेत्रका नागरिकहरुका लागि शिक्षा, स्वास्थ्य लगायतका काममा खर्च गर्न भन्दै अनिवार्य गरिदिएको सीएसआरको रकम अहिले बैंकहरुले सुरक्षा निकाय रिझाउन प्रयोग गर्ने क्रम बढेको हो । नेपाल राष्ट्र बैंकले २०७२ सालको भूकम्पपछि बैंक तथा वित्तिय संस्थाहरुलाई नाफाको एक प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने नियम बनाएको थियो । सो रकमको उचित सदुपयोग नभएको निष्कर्षसहित राष्ट्र बैंकले प्रत्येक प्रदेशमा कम्तिमा १० प्रतिशतका दरले खर्च गर्नुपर्ने व्यवस्था पनि थपिदिएको थियो ।

तर बैंकहरुले सीएसआरको त्यस्तो रकम सुरक्षा निकाय रिझाउन प्रयोग गर्ने क्रम बढेको छ । प्रहरीलाई एकमुष्ठ रकम दिएर संस्थागत निक्षेप आकर्षित गर्ने, सुरक्षा संयन्त्रसँगको सम्बन्ध व्यवस्थापन गर्ने जस्ता उदेश्यले सीएसआरको रकम दुरुपयोग बढेको हो । पछिल्लो समय सीएसआरको रकम सुरक्षा निकाय रिझाउन प्रयोग गर्ने अभियानको नेतृत्व भने ग्लोबल आइएमई बैंकले आरम्भ गरेको हो । बैंकले २०७९ फागुन ५ गते नेपाल प्रहरीलाई एकमुष्ठ २५ लाख रुपैयाँ हस्तान्तरण गरिदियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने भन्दै प्रहरीलाई २५ लाख दियो र सो रकमको खाता आफ्नै बैंकमा खोल्न लगायो । नेपाल प्रहरी कल्याणकारी कोषसँग सम्झौता गरि बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले तत्कालिन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई चेक हस्तान्तरण गरे । प्रहरीको कल्याणकारी कोष बैंकहरुलाई संस्थागत निक्षेप उपलब्ध गराउने ठूला संस्थाहरुमध्ये पर्छ । सो अक्षय कोषबाट आर्जित ब्याज रकमले प्रहरी कर्मचारीका जेहेन्दार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने भनिएको छ । राज्यको ढुकुटीबाट तलबभत्ता लिने प्रहरीहरु सीएसआरको सुबिधा लिने वर्गमा परे ? प्रश्न अनुत्तरित छ ।

ग्लोबलले प्रहरी रिझाएपछि एभरेष्ट बैंकले पनि त्यसलाई पछ्याएको देखिन्छ । एभरेष्ट बैंकले २०७९ फागुन २० गते नेपाल प्रहरीका विद्यालयहरुमा अध्ययन गर्नेहरुका लागि छात्रवृद्धि दिन भन्दै २५ लाख रुपैयाँ उपलब्ध गरायो ।
प्रहरी स्कुलहरुमा अध्ययन गर्ने अमररसहिद एवं अशक्त, अवकाश प्राप्त प्रहरी कार्यालय सहयोगी देखि प्रहरी बरिष्ठ हवल्दार दर्जा सम्मका उत्कृष्ट अंक प्राप्त विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्न २५ लाख रुपैयाँ उपलब्ध गराएको बैंकले बताएको छ । एभरेष्टले पनि ‘नेपाल प्रहरी– एभरेष्ट बैंक अक्षय कोष’ स्थापना गरि सो रकम आफ्नै बैंकमा राखेको छ । त्यस्तो सम्झौतामा तत्कालिन प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका थिए ।

दुई ठूला बाणिज्य बैंकहरुले प्रहरीलाई रिझाएपछि सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले पनि त्यहि बाटो रोज्यो । बैंकका सिईओ किरण कुमार श्रेष्ठले चैत १५ गते प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक संचेतना, प्रहरी परिवारलाई उद्यमशीलता सम्बन्धी कार्यका लागि आर्थिक सहयोग गरिएको बैंकले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्