काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले गिरावट देखिएको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार २६.८० अंकले घटेर बन्द भएको सेयर बजार यस दिन पनि घट्ने क्रमले निरन्तरता पाएको हो ।
आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २४.६८ अंकले घटेर १,९५१.२१ को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५.४६ अंकले घटेर ३६८.४९ को विन्दुुमा बन्द भएको हो ।
दिनभरीमा २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर १ अर्ब १६ करोड २५ लाख रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्सेसँगै कारोबबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार नेप्से परिसूचक २६.८० अंकले घट्दा १ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्सेका अनुसार कारोबारमा आएको २४ कम्पनीको सेयर मूल्य बढेको छ । १८७ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ५ कम्पनीको सेयर मुल्य स्थिर छ ।
सोमबार शुभम् पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । बाँकी कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा कमले बढेको छ । भने, खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ७.६२ प्रतिशले घटेको छ ।
कारोबार रकमको आधारमा यस दिन एनआईसी एशिया बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । बैंकको ६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरी, शिवम् सिमेन्टको ५ करोड ६८ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५ करोड ५ लाख, हिमालयन डिस्टिलरीको ४ करोड १९ लाख र नबील बैंकको ३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया दिनुहोस्