काठमाडौं । माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।
यस्तै, कम्पनीले सर्वसाधारणमा निष्काशन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आईपीओ लगानीकर्ताहरुले चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
उक्त आईपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखा र प्रभु क्यापिटल कमलादी काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।भने, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्