बलेवा । बागलुङमा चालु आर्थिक वर्षमा ८० वटा सामुदायिक भवन निर्माण हुने भएका छन् । चालु आवमा सम्पन्न गर्नेगरी सामाजिक संघसंस्था, मठमन्दिर तथा विद्यालय भवन निर्माण थालिएको हो ।
जिल्लाका १० वटै पालिकामा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकास कार्यालयको समन्वयमा ती भवन निर्माण थालिएको कार्यालय प्रमुख डम्मरबहादुर जिसीले जानकारी दिए । उनका अनुसार ६ करोड ७० लाख रुपैयाँको लागतमा भवन निर्माण थालिएको छ । हालसम्म विनियोजितमध्ये ६० भवनको योजना सम्झौता भइसकेको जिसीले बताए । फागुन मसान्तसम्म बाँकी योजना सम्झौताका लागि समय उपलब्ध गराइएको छ ।
सानो बजेटबाट समुदायको बाक्लो उपस्थिति हुने ठाउँमा योजना छनोट गरिएको उनले बताए । जिसीले भने, “अघिल्लो वर्षको तुलनामा यस वर्ष मठमन्दिर बनाउने योजना धेरै छन् । साथै अन्य सामुदायिक भवन र विद्यालय भवनका योजना पनि छन् ।”
प्रदेशमा समाजिक विकास मन्त्रालयले विनियोजन गरेका योजना पालिकाले कार्यान्वयन गर्ने बताउँदै नागरिकको माग र जनप्रतिनिधिले छनोट गरेअनुसार बजेट विनियोजन हुने गरेको उनले बताए ।
बागलुङ नगरपालिकाको बानपामा सबैभन्दा धेरै २१ भवन बनाइँदै छ । २ करोड १० लाख रुपैयाँ लागतमा मानवअधिकार, एकल महिला समूह, आमासमूह, सामुदायिक प्रहरीको भवन बन्दैछ । साथै मन्दिर मर्मत र पुनःनिर्माणका योजना पनि छन् । त्यस्तै बरेङ र तमानखोला गाउँपालिकामा सबैभन्दा कम ३/३ भवनको योजना छ । यसका लागि २० लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको छ । तमानखोलामा दुई सामुदायिक भवन र एक मन्दिर निर्माण हुँदैछ भने बरेङमा मन्दिर तथा विद्यालयको पर्खाल निर्माण गरिनेछ ।
जिल्लाको जैमिनीमा छ योजनाका लागि ४५ लाख रुपैयाँ, ढोरपाटनमा आठ योजनाका लागि ४५ लाख रुपैयाँ, गलकोटमा आठ योजनाका लागि ६० लाख रुपैयाँ, काठेखोलामा १२ योजनाका लागि १ करोड ५२ लाख रुपैयाँ, ताराखोलामा सात योजनाका लागि ५५ लाख रुपैयाँ, बडीगाडमा आठ योजनाका लागि ५५ लाख रुपैयाँ र निसीखोलामा चार योजनाका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख जिसीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्