काठमाडौं । नेपाल टेलिकमले आफ्ना सबै सेवाहरु ठिकठाक रहेको बताएको छ । टेलिकमको अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको र सडक, खानेपानी, ढल, विद्युत लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुगेको थियो ।
यसले गर्दा हजारौ ग्राहकहरु वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ । काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको थियो ।
यस्तै अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता रहेको छ । कम्पनी सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर रहेको पनि टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्