Shikhar Insurance
National Life

२ वर्षयता कर्मचारीको ३ अर्ब रुपैयाँ घोटला गर्दै लक्ष्मी बैंक, कानुन मिचेर व्यवस्थापनकाे दादागिरी

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १७, बुधबार १४:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी बैंकले कर्मचारीको करिब ३ अर्ब रुपैयाँ घोटला गरेको तथ्य बाहिर आएको छ । बैंक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपूर्व कर्मचारीले अवकाश कोषमा जम्मा गरेका पैसामा बैंक व्यवस्थापनले आफ्नो मनोमानी गरेको हो ।

लक्ष्मी बैंक २०७८ बैशाखमै सामाजिक सुरक्षा कोषमा आवद्द भएको हो । कोषमा आवद्ध हुन पुर्व मासिक रुपमा कर्मचारीको तलबबाट २० प्रतिशत कट्टी गरी ‘लक्ष्मी बैंक अवकाश कोष’ जम्मा गर्ने गरिएको थियो । सामाजिक सुरक्षा कोषमा कुनै पनि रोजगारदाता कम्पनीद्वारा सञ्चालिय यस्ता कोषहरुको हकमा निर्णय गर्ने अधिकार सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि, २०७५ ले योगदानकर्तालाई नै दिएको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपुर्वका यस्ता कोष योगदानकर्ताको सहमतिमा रोजगारदाता संस्थाले सोही कोषमै रहन दिने, सामाजिक सुरक्षा कोषमै पठाउने वा सम्बन्धित योगदानकर्तालाई फिर्ता दिनु पर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नै गर्न र गराउन लक्ष्मी बैंकलाई सामाजिक सुरक्षा कोषले एक वर्षअघि नै पत्रचार गरेको कोषका सह–प्रवक्ता रोहित रेग्मीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘बैंकको कर्मचारी युनियनबाट कोषमा आवद्ध हुनुअघि अवकाशकोषमा जम्मा गरिएको पैसाको हकमा के हुन्छ भनेर, सोही अनुसार व्यववस्थापनलाई पत्रचार गरिपाऊ भन्दै निवेदन दिएका थिए,’ कोषका सह–प्रवक्ता रेग्मीले सिंहदरबारसँग भने, ‘सञ्चालन कार्यविधि, २०७५ अनुसार बैंकलाई ३ वटा विकल्प दिएर सोही अनुसार गर्न गराउन भनेका थियौं, योगदान सुरु हुनअघिका त्यसका कोषमा रहेका रकम कोषमा हस्तान्तरण गर्न नचाहेमा श्रमिकले आफै लिन पाउने वा सोही कोषमै राख्न सकिने व्यवस्था गरिएको छ । यो सबै श्रमिकको इच्छामा भर पर्ने बिषय भएको हुँदा कर्मचारीहरुले भने बमोजिम नै बैंक व्यवस्थापनले गर्नु पर्ने हुन्छ । फिर्ता लिन चाहेमा कानुन बमोजिम बैंकले फिर्ता दिनु पर्ने हुन्छ ।’

तर, लक्ष्मी बैंकले भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपूर्व सञ्चालित अवकाश कोषको पैसा कर्मचारीहरुले पटक/पटक फिर्ताको माग गर्दा पनि हालसम्म फिर्ता गरेको छैन् । बैंक सामाजिक सुरक्षा कोषमा आवद्ध भएको २ वर्षसम्म अवकाश कोषको पैसा कर्मचारीले फिर्ता दिन माग गर्दा समेत फिर्ता नभएको हो । अवकाश कोषमा जम्मा भएको पैसा फिर्ताको लागि ‘लक्ष्मी बैंक कर्मचारी संघ’ ले २०७८ साउनयता दजनौं पटक बैंक व्यवस्थापन संग पत्रचार गरिसकेको छ । तर, बैंक व्यवस्थापनले भने कर्मचारी युनियनको मागलाई मात्रै नभएर कानुनी व्यवस्थालाई समेत अवज्ञा गर्दै आएको छ ।

सामाजिक सुरक्षा कोषले कानुनी प्रावधानलाई प्रष्ट्याएर बैंकलाई पत्रचार गरिसकेको हुँदा अवकाश कोषको पैसा फिर्ता नपाएका कर्मचारीहरुकाे वियष श्रम विभाग र अदालतकाे रहेकाे कोषका सह–प्रवक्ता रेग्मीले बताए ।

‘यहाँबाट कार्यविधिमा भएको व्यवस्था प्रष्ट्याएर कर्मचारी युनियनसँगै बैंकमा पत्रचार गरिसकेका छौं, कोषले त्यति गर्दा पनि अवकाश कोषको पैसा कर्मचारीले फिर्ता नपाएको विषय भने श्रम विभाग तथा अदालततर्फकाे हाे ,’– रेग्मीले भने ।

उक्त पत्र लिएर कर्मचारी संघले बैंक व्यवस्थापनका पत्रचार गर्दा व्यवस्थापनले अवकाश कोषमा भएको पैसामा ३६ प्रतिशत कर तिरेमात्रै झिक्न मिल्ने भन्दै व्यक्तिगत रुपमा कर्मचारीहरुलाई क्रसित बनाउने गरेको कर्मचारी युनियनका एक अधिकारी बताउँछन् ।

‘लक्ष्मी बैंक अवकाश कोषमा कर्मचारीकै करिब ३ अर्ब रुपैयाँ जम्मा भएको छ, त्यो पैसा सामाजिक सुरक्षा कोषमा बैंक आवद्ध हुनुपुर्व कर्मचारीको आधारभुत तलबबाट २० प्रतिशत कट्टी गरि जम्मा गरिएको रकम हो,’ लक्ष्मी बैंक कर्मचारी संघका ती अधिकारीले सिंहदरबारसँग भने, ‘सामाजिक सुरक्षा कोषले समेत त्यो पैसा श्रमिककै इछा बमोजिम गर्नु भनिसकेको अवस्थामा फिर्ता माग्दा कर लाग्ने त्रस व्यवस्थापनले देखाइरहेको छ । अवकाश कोषको पैसा फिर्ता माग्ने कर्मचारीलाई बैंकले पैसा फिर्ता
चाहिने भए कि त जागिर छाडेर जाउ, कि त अंगभंग होउ वा कि त आत्महत्या गर समेत भन्ने गरिरहेको छ ।’

यसरी कर्मचारीलाई त्रासित गराउनेमा बैंककै प्रमुख कार्यकारी अधिकृत, मानव संसाधन प्रमुख, कम्पनी सचिव तथा उच्च पदस्त व्यवस्थापनका कर्मचारीहरु रहेको स्रोतको दावी छ ।

लक्ष्मी बैंक व्यवस्थापन पक्षले सामाजिक सुरक्षा कोषमा आवद्घतता गराए पश्चात पनि सो कोषले सुनिश्चित गरेको कानुनी व्यवस्थाहरु, प्रावधानहरु परिपालना गर्न र गराउन नसक्नु, खोज्दै नखोज्नुले सो अवकाश कोषको निष्पक्षता माथि प्रश्न खडा भएको अवस्था छ ।

बैंक व्यवस्थापनले कर्मचारीको पैसामा मनोमानि गर्दै सो रकम कहाँ र कता लगानी गरेको समेत जानकारी माग गर्दा समेत दिएको छैन । बजारमा १२ प्रतिशत बढी निक्षेपको ब्याजदर पुग्दा समेत अवकाश कोषमा रहेको कर्मचारीहरुको पैसामा भने बैंकले ७ प्रतिशत ब्याज समेत नदिएको स्रोतको दावी छ । ‘अवकाश कोषको रकममा ठुलै आर्थिक चलखेल भइरहेको छ, बैंकले ३ अर्ब रुपैयाँ बाहिरबाट ल्याउँदा त्यसमा कति ब्याज दिनु पर्ने हुन्छ ? त्यसको हिसाब हामीले खोजेर ब्याज सहित पैसा फिर्ता माग गरेको हौं तर, व्यवस्थापनले कर्मचारीहरुलाई धम्की दिने काम मात्रै गरिरहेको छ,’ स्रोतले भन्यो, ‘अवकाश कोषमा कर्मचारीहरुको पैसा कति छ ? कर लाग्ने भए कति लाग्ने हो ? त्यो प्रष्ट पार्नु सोही अनुसार कर्मचारीले भुक्तानी गरेर पैसा फिर्ता लिन्छौं भनेर व्यवस्थापनलाई युनियनले पटक/पटक पत्रचार गरेको हो तर, व्यवस्थापनले वास्ता नै गर्दैन ।’

कर्मचारी अवकाश कोष र उपदान कोषमा जम्मा भएको रकममा आर्थिक अपचलन भएको भन्दै राष्ट्र बैंकमा समेत जानकारी सहितको उजुरी गर्दा समेत सुनुवाइ नभएको कर्मचारीहरुको गुनासो छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्