काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जामा बढी ब्याज लिने लघुवित्त वित्तीय संस्था विरुद्ध उजुरी दर्ता गराउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय सुचना सम्बन्धी सुचना जारी गर्दै १५ प्रतिशतभन्दा ब्याज लिने संस्था विरुद्ध राष्ट्र बैंक गुनासो सुनुवाई इकाइमा गुनासो दर्ता गराउन भनेको हो ।
मंगलबार राष्ट्र बैंकद्वारा जारी सो सुचनामा भनिएको छ–‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन । लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ ।’
पछिल्लो समय विभन्न लघुवित्त संस्थाहरुले बढी ब्याज लिएको र आम्दानीको स्रोत मुल्यांकन बिना नै कर्जा दिँदै असुलीमा आक्रमक बनेको घटना बाहिर आइरहेको छ । यसले गर्दा जनसमुदायले बैंकले दुःख दिएको भन्ने भ्रम सिर्जित हुन थाले पछि राष्ट्र बैंकले वित्तीय कारोबार गर्ने सबै बैंक होइनन् भन्ने सुचना समेत दिएको छ ।
उक्त सुचनामार्फत् राष्ट्र बैंकले वाणिज्य बैंकलाई ‘क’ वर्गका बैंक, विकास बैंकलाई ‘ख’ वर्गका वित्तीय संस्था र फाइनान्स कम्पनिलाई ‘ग’ वर्गका वित्तीय संस्था भनिने उल्लेख गरेको छ । भने, लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका वित्तीय संस्था भनिन्छ ।
यी संस्थाहरू नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका संस्था हुन् । सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्