काठमाडौं । मालबाहक सवारी बीचबाटोमा पार्किङ गरेर राख्नुपर्ने अवस्थाको अन्त्य भएको छ । चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै पार्किङको समस्या अन्त्य भएको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुख्खा बन्दरगाह सञ्चालनमा आएको ११ महिनापछि आन्तरिक टर्मिनल (आन्तरिक आयात/निर्यात क्षेत्र) सञ्चालनमा आएको जानकारी दिए ।
आयात निर्यात (एक्जिम) टर्मिलन गत चैत २२ गतेदेखि सञ्चालनमा रहेको भएपनि डोमेस्किट टर्मिनल सञ्चालनमा आएको भने थिएन । वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको वैठकले दुई साताअघि आन्तरिक टर्मिनल सञ्चालनको अनुमति तथा दररेट स्वीकृत गरेको थियो । जुन फागुन १ गतेदेखि बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा आइसकेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै सरकारी लजिस्टिक्स हबको अभावमा मालबाहक गाडीहरु विभिन्न स्थानमा रोकेर राख्नुपर्ने वाध्यताको अन्त्य भएको उनले बताए ।
‘आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै आयात/निर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्ट गर्नु पर्ने, चर्को मूल्यको गोदाम शुल्क तिर्नु पर्ने बाध्यताको पनि अन्त्य भएको छ,’ कार्यकारी निर्देशक गजुरेलले भने, ‘टर्मिनल सञ्चालनमा आएपछि हाल उपत्यकामा भैरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङ कमी हुनेछ ।’
अव्यवस्थित पार्किङका कारण निम्तने दुर्घटनाको जोखिम समेत न्यूनिकरण हुने उनको विस्वास छ । हालसम्म आधा दर्जनको संख्यामा मालबाहक सवारीले पार्किङको सुविधा लिएको उनले जानकारी दिए । थप सेवा विस्तारको लागि विभिन्न संघ संस्था तथा निकायहरुसँग समन्वय भइरहेको उनले बताए ।
‘ढुवानी व्यवसायी महासंघ र ट्रक व्यवसायी महासंघलाई पनि औपचारिक रुपमा बन्दरगाहको सुविधा लिन अनुरोध गरेका छौं,’ उनले भने, ‘यसबाहेक लजिस्टिक्स सुविधा उपयोग गर्न उपाय कार्गो कम्पनीलाई पनि आह्वान गरिरहेका छौं ।’
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका आदि स्थानीय निकायलाई पनि जथाभावी पार्किङ गर्नेलाई सुख्खा बन्दरगाहबारे सुसूचित गर्न अनुरोध गरिएकाे उनले जानकारी दिए ।
कार्यकारी निर्देशक गजुरेलका अनुसार भएको पूर्वाधारको अधिकतम उपयोग गर्ने अभिप्रायले आन्तरिक टर्मिनललाई लजिस्टक्स हबको कन्सेप्टबाट सञ्चालन भएको हो ।
कुल २३० रोपनीमा बनेको बन्दरगाहको १३० रोपनीमा भन्सारका गतिविधि (आयात निर्यातको काम) सञ्चालन भइरहेकामासमितिले ९० रोपनीमा आन्तरिक टर्मिनल चलाएको जनाएको छ ।
नेपालमा सरकारी लजिस्टिक्स हबको अभावमा मालबाहक गाडीहरु विभिन्न स्थानमा रोकेर राख्ने गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित लजिस्टक्स सेन्टर निकै महंगो पर्न जान्छ । अव्यवस्थित रुपमा भइरहेको काम व्यवस्थित गर्ने, मालबाहक सवारीलाई पार्किङ सुविधा दिने, व्यापारीलाई गोदाम प्रयोग गर्न दिने, प्याकेजिङ लेबलिङ जस्ता काम पनि यही यार्डमा गर्न मिल्ने गरी विकास गरिएको गजुरेलको भनाइ छ ।
‘हामीले बन्दरगाहको अधिकतम उपयोग गर्ने तयारी गरेका छौं, पार्किङ, गोदाम प्रयोग र स्पेस प्रयोग गर्ने दररेट पनि सार्वजनिक भइसकेको छ,’ उनले भने ।
सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनलमा १५० वटा गाडी पार्किङ गर्न सकिन्छ । यस्तै व्यापारिले १३ सय वर्ग मिटर क्षमताको गोदामघरमा आफ्नो सामान भण्डारण गर्न सकिन्छ । टर्मिलनमा ८० मट्रिक टन क्षमताको सवारी नापतौल, लोड/अनलोड सेड, चालक तथा कामदारहरुका लागि शौचालयको व्यवस्था छ ।
गजुरेलका अनुसार उक्त टर्मिनल प्रयोगको लागि प्रवेश शुल्क निःशुल्क गरिएको छ भने सकेसम्म न्यूनतम शुल्कमा सवारी साधनहरुको पार्किङ, मालसामानको लोडिङ/अनलोडिङ, सामान राख्ने गोदामघर, लगायतका सुविधा दिइने छ ।
नयाँ टर्मिनलमा कन्टेनर र ट्रकका लागि ५ वर्षसम्म लोडिङ/अनलोडिङ सुविधा सित्तैमा पाइन्छ । अन्य शुल्क पनि निकै सस्तो रहेको गजुरेलको दाबी छ ।
२०७५ माघ ३ गते शिलान्यास भएको ३८ महिनापछि काठमाडौंको चोभारमा सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भई २०७८ चैत्र २२ गते उद्घाटन भई सञ्चालनमा आएको हो ।
काठमाडौंमा व्यापार सम्बद्ध भौतिक पूर्वाधारको अभावमा लजिस्टिक व्यवस्थापनमा समस्या भएकोले व्यापार सहजीकरणका लागि एकद्वार प्रणालीबाट आयात/निर्यातकर्तालाई सेवा प्रदान गर्ने एवं काठमाडौं प्रवेश गर्ने ढुवानी साधनहरुलाई व्यवस्थित गर्नै उदेश्यले सरकारले चोभारमा सुख्खा बन्दरगाह बनाएको हो ।
चोभार सुक्खा बन्दरगाह परिसरमा एक्जिम क्षेत्र (आयात/निर्यात हुने सामान लिएर आउने/जाने मालवाहक सवारी साधनको लागि) डोमेस्टिक क्षेत्र (मुलुकभरबाट काठमाडौं आउने मालवाहक सवारी साधनको लागि लोडिङ/अनलोडिङ, पार्किङ, गोदामलगायतका सुविधाको लागि) गरी दुई भागमा विभाजन गरी संरचनाहरु निर्माण भएको छ ।
ढुवानी महासंघलगायत सरोकारवालाले बन्दरगाहको आन्तरिक टर्मिनलको अधिकतम उपयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए । गजुरेलका अनुसार लजिष्टिक हव विश्वभरका लागि आधुनिक कन्सेप्ट रहेको भन्दै नेपालमा सुरुवात चोभारस्थित सुख्खा बन्दरगाहबाट भएको छ ।
प्रतिक्रिया दिनुहोस्