Skip to content
Shikhar Insurance
National Life

गाडी आयातमा कठिनाई भएपछि नाडा नेतृत्वले भेट्यो भन्सारका महानिर्देशक

Hyundai
NCELL
NIMB

काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासंग भेट गरेको छ । गाडी आयातमा कठिनाई देखिएपछि नाडा नेतृत्वले महानिर्देशकसँग भेट गरी भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउन सहजीकरण गर्न आग्रह गरेको थियो ।

छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा लगाएको प्रतिवन्ध खुलाए पनि सो आयात प्रतिवन्ध लगाउनु अघि देखि नै नेपाल राष्ट्र बैंकले लागु गरेको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको बताए । अहिले पनि सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफना सवारी साधनहरु उठाउन नसकेको उनले स्पष्ट पारे ।

सोही क्रममा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार जीप र भ्यान जस्ता सवारी साधनहरुको बजार वार्षिक १७/१८ हजार रहेकोमा अहिले त्यो घटेर ७/८ हजारमा झरेको बताए । उनले कूल सवारी साधनहरुको विक्री ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताए । त्यसैगरी सो छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एल.सि खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आईरहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दे सन्दर्भ मूल्य सूचिले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले सो सन्दर्भ मूल्य सूचिलाई खारेज गर्नु पर्ने धारणा राखे ।

छलफलमा महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भईसकेको जानकारी दिँदै नेपालका कुन कुन भन्सार नाकाहरुमा के कस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु ( दुई पाँग्रे तथा तीन पाँग्रे वाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन् त्यसको विवरण यथाशीघ्र विभागमा पठाई दिन अनुरोध गरे । यसै क्रममा महानिर्देशक बुढाले विभागले छिटै मूल्याङ्कन गोष्ठिको आयोजना गर्न लागेको समेत जानकारी दिए । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्