झापा । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ ।
जिल्लाको मध्यभागमा रहेको विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका परियोजनामा जुटेका हुन् । चार वर्षदेखि निरन्तर निर्माण भइरहेको परियोजना कनकाई नगरपालिका–२ को सुकेडाँगीमा रहेको छ । परियोजना सञ्चालनमा आएपछि ती नगरपालिकामा फोहरमैलाबाट उत्पन्न समस्याको दिगो समाधान हुने विश्वास गरिएको छ ।
कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार तीनवटै नगरको फोहरमैलालाई ल्याएर जैविक मल र बायोग्यास उत्पादन गर्ने सोचका साथ २०७५ सालमा कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेड स्थापना भयो । परियोजनाका लागि आवश्यक कूल लगानी १३ करोड ६३ लाखमध्ये ४० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट अनुदान प्राप्त हुने र बाँकी ६० प्रतिशत तीनवटै नगरपालिकाले जुटाउने सहमतिअनुरुप हाल काम अन्तिम चरणमा पुगेको उनले बताए ।
दैनिक पचास टन फोहर प्रशोधन हुने
परियोजनास्थलमा दैनिक ५० टन फोहर प्रशोधन गर्नसक्ने चार हजार घनमिटर क्षमताको बायोग्यास प्लान्ट जडान भइसकेको छ । यसबाट हरेक दिन १० टन जैविक मल र एक हजार केजी मिथेन ग्यास उत्पादन हुने गर्दछ । तीन बिघा क्षेत्रफलमा फैलिएको परियोजनास्थलमा ग्यासप्लान्ट, पाइपलाइन विस्तार र प्रशासनिक भवन निर्माण भइसकेको परियोजनाका बायोविज्ञ जीवन श्रेष्ठले बताए । अहिले केही महत्वपूर्ण मेसिनरी जडान र विद्युत् आपूर्तिको लाइन निर्माण धमाधम भइरहेको उनले जानकारी दिए। ग्यास होल्डर, डिजेस्टर पार्टलगायत परियोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको जनाउँदै उनले भने, “कुनै व्यवधान खडा भएन भने अबको एक महिनापछि प्लान्ट सञ्चालनमा ल्याउन सकिन्छ ।”
उनले विर्तामोड, अर्जुनधारा र कनकाई नगरबाट निस्कने फोहर परियोजनाका लागि अपर्याप्त हुने बताए । पूर्ण क्षमताका साथ मेसिन चलाउने हो भने आसपासका अरू पालिकाबाट समेत फोहर सङ्कलन गरिनुपर्ने र घाँस, गोबरलगायत अन्य प्रकारका कच्चापदार्थको बन्दोबस्त गरिनुपर्ने उनको सुझाव छ ।
परियोजनामा सहलगानी गरेका तीन नगरपालिकाबाट दैनिक १५ देखि १८ टन मात्र फोहर सङ्कलन हुने सम्भावना छ । फोहर व्यवस्थापनका लागि लगानी साझेदारीका लागि मेचीनगर, भद्रपुर, बाह्रदशी, शिवसताक्षीलगायतका छिमेकी पालिकाहरुलाई समेत आग्रह गरिएको छ । तर अरू पालिकाहरु अध्ययनकै चरणमा रहेका छन् ।
रातिराति फोहर पुर्दै विर्तामोड
झापाको सबैभन्दा व्यस्त र आवादी सहर भएको कारण विर्तामोडमा फोहरमैलाको समस्या विकराल बन्दै गएको छ । बजार र सडक क्षेत्रमा थुप्रिएको फोहर दुर्गन्धित हुँदा नगरपालिका नै बदनाम हुने गरेको छ ।
विर्तामोडमा फोहर सङ्कलन गर्ने र बाहिर लैजाने स्रोत साधनको पर्याप्त व्यवस्था हुँदाहुँदै पनि फोहरलाई विसर्जन गर्ने ठाउँ नपाएर समस्या भएको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा बताउँछिन् । “हामीसँग गल्ली र चोकहरुबाट फोहर सङ्कलन गर्ने र त्यसलाई ओसार्ने स्रोत, साधन र संयन्त्र पर्याप्त छ”, उनी भन्छिन्, “तर, सङ्कलन भएको फोहर कहाँ लगेर फाल्ने र कसरी विसर्जन गर्ने भन्ने विषयमा समस्या भएको हो ।”
हाल निराकार सरसफाइ सेवा प्रालिलाई नगरपालिकाले विर्तामोड बजार क्षेत्रको फोहरमैला सरसफाइ गर्ने जिम्मेवारी दिएको छ । तर, बजारबाट सङ्कलित फोहरलाई स्थानीय खोला र सडकको किनारमा खाल्डो खनेर पुर्ने मात्र गरिँदै आएको छ ।
विर्तामोड नगरपालिकाले विगतमा विभिन्न स्थानमा डम्पिङ साइटको खोजी गरेर फोहरमैला विसर्जनको प्रयास गरेको थियो । स्थानीयवासीले फोहर फाल्न अवरोध गरेका कारण नगरले फोहरलाई उचित ढङ्गले विसर्जन गर्न नपाएको नगरप्रमुख महतरा बताउँछिन् ।
नगरपालिकाको गाडीले रातिराति फोहर बोकेर खोला र सडक किनारमा फोहरलाई पुर्ने कार्य पनि आलोच्य बन्ने गरेको छ । प्लास्टिकजन्य फोहरको थुप्रोमा आगो लगाएर नष्ट गर्दा वातावरण दूषित हुने गरेको गुनासो आउने गरेको छ । “कनकाईको ग्यास प्लान्टमा हामीले पनि साझेदारी गरेका छौँ, त्यो सञ्चालनमा आएपछि विर्तामोडको फोहरमैलाको समस्याले उचित समाधान पाउने हाम्रो विश्वास छ”, नगरप्रमुख भन्छिन्।
मेचीनगर र भद्रपुरमा पनि छैन डम्पिङसाइट
झापामा विर्तामोडबाहेक दमक, मेचीनगर र भद्रपुरमा फोहरमैलाको समस्या अन्यत्रको तुलनामा धेरै छ । दमक नगरपालिकाले आफ्नै लगानीमा बायोग्यास प्लान्ट निर्माण गरिसकेको छ । मेचीनगर र भद्रपुर नगरपालिका अझै पनि खोलाको बगरमा फोहर थुपारेर जलाउने गर्छन् । मेचीनगर नगरपालिकाको धुलाबारी क्षेत्रको फोहरमैला स्थानीय निन्दा नदीको बगरमा थुपारेर जलाउने कार्यले बस्तीमा वायु प्रदूषण फैलिने गरेको जनगुनासो छ ।
खोलाको बगर र जङ्गलका बीचमा फालेर फोहरमैलाको दीर्घकालीन र उचित समाधान नहुने विषयमा नगरपालिकाका जनप्रतिनिधिहरु सहमत छन् । तथापि, विकल्प केही नहुँदा नगरका फोहर फ्याँक्ने गाडीहरु खोलाको बगर र जङ्गलतिरै गइरहेका भेटिन्छन् । “खोला र जङ्गलमा फालेर यो समस्याको दिगो समाधान हुँदैन भन्ने सबैले बुझ्न जरुरी छ,” मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी भन्छन्, “फोहरलाई मोहरमा परिणत गर्न सकिन्छ र यसको वैज्ञानिक उपायहरु हुन्छन् । तर, यही कुरो स्थानीयले नबुझिदिएका कारण समस्याको दिगो समाधान हुन सकेको छैन ।”
मेचीनगर नगरपालिकाले सेनेटरी ल्यान्डफिल्ड साइटका रुपमा प्रयोग गर्न राजमार्ग उत्तरको क्षेत्रमा जग्गा व्यवस्थापन गरेको केही वर्ष बितिसकेको छ । अनेक प्रयास गर्दासमेत स्थानीय बासिन्दाले परियोजनालाई अघि बढाउन सहमति दिएका छैनन् । गाउँमा फोहरको दुर्गन्ध फैलिने त्रास स्थानीयवासीलाई छ ।
भद्रपुर नगरपालिकाले पनि वर्षौंअघि मेची नदीको छेउमा ल्यान्डफिल्ड साइटका लागि जग्गा व्यवस्थापन गरेको थियो । तर फोहरलाई वैज्ञानिक ढङ्गले प्रशोधन गरेर जैविक मल बनाउने कार्य नहुँदा त्यहाँबाट दुर्गन्ध फैलिइरहेको गुनासो आउने गरेको छ ।
मेची नदीको बगरमा डोजर लगाएर बनाएको खाल्डोमा फोहरलाई पुरिँदै आएको छ । ल्यान्डफिल्ड साइटका लागि खरिद गरिएको जग्गा चन्द्रगढी विमानस्थलको धावनमार्गबाट नजिक रहेको कारण चील र गिद्धहरु आएमा हवाई मार्गमा अवरोध पुग्ने सम्भावना पनि औँल्याइने गरेको छ ।
आफ्नै ल्यान्डफिल्ड साइटको उचित बन्दोबस्तसमेत गर्न नसकेका भद्रपुर र मेचीनगर नगरपालिकालाई कनकाईको ग्यासप्लान्टमा आबद्ध हुन आग्रह गरिएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले हालै मेचीनगरका जनप्रतिनिधिहरुलाई ग्यासप्लान्टको अवलोकन भ्रमण गराएर सहलगानीमा आउन आग्रह गरेका थिए ।
अबको चुनौतीः फोहर वर्गीकरण
दमक र कनकाई गरी दुई स्थानमा फोहरमैलाबाट ग्यास र मल उत्पादन गर्ने परियोजना निर्माण भइसके तापनि त्यसको सञ्चालनमा ‘फोहरको वर्गीकरण’ चुनौतीपूर्ण बन्ने सम्भावना छ । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेडका बायोविज्ञ जीवन श्रेष्ठका अनुसार बायोग्यास प्लान्टमा कुहिने फोहर मात्र हाल्नुपर्ने हुन्छ । घरको भान्सा, होटल, तरकारी तथा फलफूल पसल आदिबाट निस्कने फोहरलाई ट्याङ्कीमा हालेर कुहाइने र मिथेन ग्यास उत्पादन गरिने प्रविधि परियोजनामा जडान गरिएको छ ।
बायोविज्ञ श्रेष्ठले नगरपालिकाहरुले परियोजनामा फोहर पठाउँदा नै वर्गीकरण गरेर पठाउनुपर्ने बताए । “स्रोतमै फोहरको वर्गीकरण गर्न अहिलेदेखि तयारी थाल्न नगरपालिकाहरुलाई अनुरोध गर्दछु,” उनी भन्छन्, “यहाँ ल्याएर सबैखालका फोहर थुपार्न थालियो भने डम्पिङ साइट बन्ने सम्भावना हुन्छ ।”
नगरपालिकाहरुले आफ्नै क्षेत्रमा फोहरको तीन किसिमको वर्गीकरण गर्नुपर्ने हुन्छ । कुहिने, नकुहिने र धातुजन्य फोहर गरी तीन किसिमको वर्गीकरण हुनुपर्ने विज्ञको सुझाव छ । कुहिने फोहरबाट ग्यास र मल उत्पादन हुन्छ भने नकुहिने प्लास्टिकजन्य फोहरबाट निर्माण सामग्री (पेभर्स) उत्पादन गरिने श्रेष्ठले बताए । कनकाईको परियोजनास्थलमा प्लास्टिकजन्य फोहरबाट पेभर्स उत्पादन गर्नका लागि मेसिनरी जडान भइरहेको छ ।
हाल विर्तामोड नगरपालिकाले घरबाटै फोहरको वर्गीकरण गर्नका लागि नगरवासीलाई तालिम र सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएपछि त्यसलाई सिधै कनकाईको बायोग्यास प्लान्ट रहेको परियोजनामा लैजाने नगरको तयारी छ ।
अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले आफ्नो नगरबाट सङ्कलन हुने फोहरमैलालाई वर्गीकरण गरेर कनकाईको बायोग्यास प्लान्टमा प्रशोधनका लागि लगिने तयारी भइरहेको जानकारी दिइन् । हाल सो नगरमा निजी जग्गा भाडामा लिएर फोहरलाई विसर्जन गरिँदै आएको उनले बताइन् ।
विर्तामोडमा ठूला अस्पतालबाट निस्कने फोहरमैला थप समस्या बनेका छन् । अस्पतालहरुले प्रयोग भइसकेका सिरिन्ज र अपरेसन थिएटरबाट निस्कने फोहरलाई एउटै ठाउँमा हाल्ने गर्दा समस्या निम्तिएको हो ।
खोला, जङ्गल र सडक किनारमा सिरिन्जजन्य फोहर फाल्दा मानवीय क्षति पुग्ने सम्भावना हुन्छ । केही महिनाअघि विर्तामोडका केही अस्पताललाई कनकाईको बिरिङ खोलामा सिरिन्जजन्य फोहर राति फाल्ने गरिएको भेटिएपछि जरिवाना तिराइएको थियो । लगातार बढिरहेको सहरीकरणमा सबैभन्दा चुनौतीको विषय बनिरहेको फोहरमैला समस्या अब कनकाईको वायोग्यास परियोजना निर्माणपछि समाधान हुने आशामा छन् विर्तामोडवासी । कनकाई र अर्जुनधाराजस्ता पर्यटकीय एवम् धार्मिकस्थल रहेको नगरपालिकासमेत यो परियोजनाबाट फोहरमैलाको समस्या दीर्घकालीन रुपमा समाधान हुने भरोसामा रहेका छन् । “फोहरबाट मोहोर निस्कन्छ भन्ने सुनेको धेरै वर्ष भइसक्यो,” विर्तामोड निवासी सामाजिक कार्यकर्ता सुवास भट्टराई भन्छन् । परियोजनाबाट उत्पादन हुने जैविक मल र मिथेन ग्यासको व्यावसायिक प्रयोग पनि चुनौतीपूर्ण छ । नगरपालिकाहरुले त्यहाँबाट उत्पादित ग्यासलाई पाइपलान र सिलिन्डर दुवै माध्यमबाट उपभोग गर्न सकिने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्