काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीलाई स्थिर ब्याजदरमै कर्जा लिन सुझाएको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सुचना सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट स्थिर ब्याजदरमै कर्जा लिदाँ फाइदाजनक रहने सुझाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले परिवर्तित र स्थिर दुबै प्रकारका ब्याजदरमा कर्जा प्रवाह गरिहेका हुन्छन् । परिवर्तित ब्याजदरमा लिएका कर्जा बैंक तथा वित्तीय सस्थाले आधारदर परिवर्तन गरेसँगै ब्याजदर पनि परिवर्तन हुन्छ । राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा बेसरेट परिवर्तन गर्न पाउँछन्, भने नयाँ कर्जा प्रवाहको लागि मासिक रुपमा नै नयाँ बेसरेट तोकिएको हुन्छ ।
यस्तो बेसरेट बैंकहरुले निक्षेपको लागतमा केही प्रतिशत स्प्रेडदर कायम गरी कर्जाको ब्याजदर निर्धारण गरेका हुन्छन् । बैंकहरुले मासिक रुपमा कायम हुने बेसरेटमा नयाँमा नयाँ कर्जा प्रवाह गर्छन् भने, त्रैमासिक रुपमा कायम हुने नयाँ बेसरेटमा परिवर्तित ब्याजदरमा कर्जा लिएका ऋणीको ब्याजदर समायोजन गर्छन् । यस्तो परिवर्तित ब्याजदरमा लिएको कर्जा अघिल्लो त्रैमासको भन्दा सो त्रैमासमा बेसरेट बढ्दा ब्याजदर बढ्ने र घट्दा घट्ने हुन्छ ।
निश्चित आय भएका व्यक्तिले परिवर्तित ब्याजदरमा कर्जा दिँदा आफ्नो आम्दानी र खर्चबीचको तालमेत हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई दिई व्यक्तिहरु स्थिर (फिक्स्ड) ब्याजदरमा उपलब्ध गराउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ऋणीालाई हुने फाइदाको बारेमा उल्लेख गर्दै राष्ट्र बैंकले भनेको छ– ‘स्थिर ब्याजदरमा कर्जा उपयोग बगर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्ति वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन ।’
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन ऋणीलाई राष्ट्र बैंकले आग्रह गरेको छ । ब्याजदर निर्धारण र ब्याजदर परिर्तन हुने सर्त बुझेर मात्र कर्जा उपयोग गर्नु पर्ने राष्ट्र बैंकको सुझाव हो ।
प्रतिक्रिया दिनुहोस्