Skip to content
Shikhar Insurance
National Life

कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट धुलिखेल नगरपालिका

Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी ६५ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो ।

काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाउँपालिका छन् । जसमा नमोबुद्ध नगरपालिकाले ६४.६० अङ्क हाँसिल गरी दोस्रो स्थान तथा ६२.१३ अङ्क प्राप्त गरी चौँरीदेउराली गाउँपालिका तेस्रो भएको छ । चौंरीदेउराली जिल्लास्थित गाउँपालिकामध्ये पहिलो भएको छ ।

आयोगको प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहमा बनेपा नगरपालिकाले ६१.८५, रोशी गाउँपालिकाले ६१.१२, बेथानचोक गाउँपालिकाले ५९.८७, पनौती नगरले ५५.३८, भुम्लु गाउँपालिकाले ५२.९०, खानीखोला गाउँपालिकाले ५२.२८, पाँचखाल नगरले ५२.२५, तेमाल गाउँपालिकाले ४९.८७, मण्डनदेउपुर नगरले ४६.५७ र महाभारत गाउँपालिकाले ४६ अङ्क प्राप्त गरेका छन् ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशकोसमेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

सोही अनुसार बागमती प्रदेशले भने ३६.१ अङ्क प्राप्त गरेको हो । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्