काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारी बजेट खर्च निराशाजनक देखिएको छ । सो अवधिमा सरकारीको बजेट खर्च ३७.२२ प्रतिशत मात्र देखिएको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४.९२ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ विनियोजन भएकोमा माघ मसान्तसम्म ५ खर्ब ३१ अर्ब ५० करोड रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।
पुँजीगततर्फ चालु आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा ७ महिना अवधिमा वार्षिक विनियोजनको १७.४३ प्रतिशत अर्थात् ६६ अर्ब २९ करोड ८४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि २ खर्ब ३० अर्ब रुपैयाँ बराबर बजेट छुट्याइएकोमा वार्षिक विनियोजनको ३०.३४ प्रतिशत बराबर खर्च भएको छ । जुन ६९ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबर रहेको छ । वित्तीय व्यवस्थापनतर्फको बजेट सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुन्छ ।
यस अर्थमा चालु आवको ७ महिनामा सरकारी ऋणको साँवा ब्याज भुक्तानीमा भएको खर्च भन्दा पुँजीगत खर्च कम देखिएको छ । ७ महिना अवधिमा सरकारको राजस्व सङ्कलन ३८ प्रतिशत बराबर छ । चालु आवका लागि कूल १४ खर्ब ५८ अर्ब ६० करोड बराबर राजस्व असुली गर्ने सरकारको लक्ष्य छ । तर माघ महिनासम्म ५ खर्ब ५४ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबर मात्रै राजस्व उठेको छ ।
चालु आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा लक्ष्यको ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख रुपैयाँ बराबर अनुदान आएको छ ।
प्रतिक्रिया दिनुहोस्