काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले नेपाललाई थोत्रा तथा कम गुणस्तरका विद्युतिय सवारी साधन थन्क्याउने देश बन्न नदिने ेबताएका छन् । नाडा अटोमोबाइल्स एसोसियसनको ४६ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विद्युतिय सवारी सधानहरुको आयु तथा गुणस्तरमा सरकारले बिशेष ध्यान दिने र व्यवसायी पनि चनाखो हुनुपर्ने बताएका हुन् । ‘नेपाललाई थोत्रा विद्युतिय सवारी साधनहरु थन्क्याउने देश बन्न दिँदैनौं । सरकारले गुणस्तर र आयुमा बिशेष ध्यान दिन्छ, व्यवसायी पनि सचेत हुनुस’, मन्त्री पौडेलले भने ।
उनले आजका दिनमा अटोमोबाइल बिलासिताको वस्तु नभएको बताए । ‘आजका दिनमा अटोबोइल्स बिलासिताको बस्तु होइन, यो आवश्यक वस्तु हो । हिजो बिलासिता मानिन्थ्यो, अहिले अत्यावश्यक वस्तु भैसक्यो ।’, मन्त्री पौडेलले भने ।
उनले देशमै पर्याप्त मात्रामा विद्युत उत्पादन हुन थालेकाले अब विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने समय आईसकेको पनि बताए । ‘अब विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने समयम भैसक्यो, सरकार त्यसका लागि तयार छ । देशमै पर्याप्त मात्रामा विद्युत उत्पादन हुन थालिसकेको छ । अब विद्युतीय सवारीको युग आउनेछ ।’, मन्त्री पौडेलले भने ।
उनले आगामी पाँच वर्षभित्र देशमा ५० प्रतिशत निजी सवारी साधनहरु विद्युतीय बनाउने नाडाको उदेश्य पुरा गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले अब चार्जिङ स्टेशन बनाउन दुःख पाउनु नपर्ने पनि बताए ।
उनले केहि समयभित्रै सवारी साधनका क्षेत्रमा सरकारले ठूलो र दिर्घकालिन महत्वको निर्णय गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्