काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गरी बजारको ब्याजदर घटाउन खोजेको छ । केन्द्रीय बैंकले दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधाको ब्याजदर १.५ प्रतिशतले घटाएको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यसअघिसम्म ८.५ प्रतिशतमा रहेको ओभरनाइट तरलता सुविधाको ब्याजदरलाई ७ प्रतिशत कायम गरेको हो ।
जारी मौद्रिक नीति समीक्षामा भनिएको छ, –‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ ।’
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् गरिएको सो व्यवस्थाले कर्जाको ब्याजदर घटाउन सहयोग पुग्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
‘ओभरनाइट तरलता सुविधाको अभ्यास अन्तर्राष्ट्रिय अभ्यास हो, यसअघि ८.५ प्रतिशतमा ओभरनाइट तरलता सुविधा ७ प्रतिशत ब्याजदरको नीतिगत दरमा उपलब्ध हुँदा बैंकहरुको खर्च घट्न घइ कर्जाको रेटपनि घट्न सक्छ ।’
यसले बैंकहरुको ब्याज खर्च घट्ने हुँदा बैंकहरुले कर्जाको रेट समेत घटाउन सक्ने उनको अनुमान हो ।
प्रतिक्रिया दिनुहोस्