काठमाण्डौं । नेपाल राष्ट्र बैंकले कागजी रेमिट्यान्स निक्षेपमा अंकुश लगाएको छ । कागजपत्र देखाएर रेमिट्यान्समार्फत् प्राप्त निक्षेप भन्दै बढी ब्याज दिने प्रवृतिमा राष्ट्र बैंकले अंकुश लगाएको हो ।
नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार रेमिट्यान्स निक्षेपमा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १ प्रतिशत बढी ब्याजदर दिनुपर्छ । तर, यस्तो निक्षेप प्राप्त भएको प्रमाणमात्रै पेश गर्नुपर्ने यसअघिको राष्ट्र बैंकको व्यवस्था थियो ।
तर, बिहीबार केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई अनिवार्य विप्रेषण (रेमिटयान्स) बचत खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । जसमार्फत् प्राप्त निक्षेपमामात्रै न्यूतनम १ प्रतिशत ब्याज दिन पाउने व्यवस्था अहिले गरिएको हो । यस्ताे खाता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कुनै एक बैंक तथा वित्तीय संस्थामा मात्रै खाेल्न पाउनेछन् ।
विप्रेषण (रेमिटयान्स) बचत खाता सम्बन्धमाः
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी वैदेशिक रोजगारीमा जाने वा हाल वैदेशिक रोजगारमा रहेका नेपालीको बैंक खाता खोल्ने प्रयोजनका लागि देहायबमोजिमको मापदण्ड/प्रक्रिया अवलम्बन गर्नु पर्नेछः
(अ) यस व्यवस्थाबमोजिम खाता खोल्दा ग्राहकको अन्य संस्थामा विप्रेषण (रेमिटयान्स) बचत खाता नभएको स्वःघोषणा लिनु पर्नेछ ।
(आ) यस व्यवस्था बमोजिम खोलिने बैंक खाताका लागि सरलीकृत ग्राहक पहिचानको प्रक्रिया अवलम्बन गर्न सकिनेछ ।
(इ) यस व्यवस्था बमोजिम खोलिएका खातामा बैंक तथा वित्तीय संस्थाले आफ्नो तर्फबाट प्रतिखाता १०० रूपैयाँ (अक्षरेपी एक सय मात्र) जम्मा गर्न सक्नेछन ।
(ई) उक्त खातामा नेपालबाट सोही खातामा रहेको रकमको ब्याज, विप्रेषण मुद्दती निक्षेप खाताबाट रकमान्तर हुने रकम र सरकारी निकायबाट प्राप्त हुने भुक्तानीबाहेक अन्य कुनै पनि रकम जम्मा वा रकमान्तर गर्न पाइने छैन् ।
प्रतिक्रिया दिनुहोस्