काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीका लागि आफ्नो भागमा परेको रकम तत्कालै भुक्तानी गर्न नेपाली रिलाई बीमा प्राधिकरणले पत्र काटेको छ । बीमा प्राधिकरणले नेपाल रिलाई माघ २३ गते पत्र लेखेर एक महिनाभित्र करिब २२ करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको हो ।
अर्थमन्त्रालयले कोरोन बीमाको दावी भुक्तानीमा आफ्नो दायित्व स्वीकार गर्दै १ अर्ब रुपैयाँ निकासा गरेको थियो । बीमा प्राधिकरणले सरकारलाई ५५ प्रतिशत दायित्व सुम्पिएर बाँकी दायित्व बीमा कम्पनी, नेपाल रि र समिति मिलेर तिर्ने गरि मोडालिटी बनाएको थियो ।
तत्काका लागि सरकारले उपलब्ध गराएको एक अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकममध्ये ८ प्रतिशत अर्थात् १४ करोड ८४ लाख रुपैयाँ प्राधिकरणले, १२ प्रतिशत अर्थात् २२ करोड रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले र २५ प्रतिशत बीमा कम्पनीहरुण्ण्ले (एक कम्पनीको भागमा २ करोड २७ लाख रुपैयाँ) वहन गर्ने मोडालिटी बीमा प्राधिकरण र बीमा कम्पनीहरुले तयार पारेका थिए ।
सोही मोडालिटी अनुसार प्रक्रिया अघि बढेको भए पनि नेपाल रिको सञ्चालक समितिले अब उपरान्त कोरोना बीमाको दावी भुक्तानीका लागि रकम नदिने निर्णय गरिसकेको छ ।
सरकारले पठाएको १ अर्ब रुपैयाँमा प्राधिकरण र बीमा कम्पनी र नेपाल रिले थप गरी १ अर्ब ८१ करोड ८४ लाख ८४ हजार ८१४ रुपैयाँ बीमितमा भुक्तानी गर्ने भनिएकोमा नेपाल रिले रकम दिएको छैन् ।
नेपाल रिको सञ्चालक समितिले नै कोरोना बीमाका लागि थप रकम नदिने निर्णय केहि समय पहिले नै गरेको थियो ।
मंसिर ४ को निर्वाचन अघि नै केहि रकम दावी भुक्तानी दिने भन्दै सरकारले असोज २३ गते १ अर्ब रुपैयाँ निकासा गरेको थियो । कोरोना बीमामा १ लाख ६१ हजार ३४६ वटा दावीको १५ अर्ब ३५ करोड ६८ लाख २६ हजार रुपैयाँ बराबर दावी भुक्तानी परेको छ । जसमध्ये ५० हजार ४४७ वटा दावीको ४ अर्ब ८३ करोड ३५ लाख ३६ हजार रुपैयाँमात्रै भुक्तानी भएको छ ।
प्रतिक्रिया दिनुहोस्