काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका ११ मुद्दा दायर गरेको छ । विभागले गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी ६ र विदेशी मुद्रा अपचलनसम्बन्धी ५ मुद्दा दायर गरी कुल ६४ करोड ८३ लाख ३३ हजार रुपैयाँ सजाय माग दावी गरेको हो ।
विभागले वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई कारबाही भएको विभागले जनाएको छ । जस वापत विभागले ५८ करोड १८ हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ ।
विभागका अनुसार पछिल्लो ३ महिनामा राजस्व चुहावटका एक सय ९९ सूचना आएका थिए । जसमध्ये ७६ सूचनामाथि थप अनुसन्धानका लागि विभिन्न निकायमा लेखि पठाएको र छ सूचनामाथि अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्ता भएको विभागले जनाएको छ ।
दायर भइसकेका छ मुद्दामा ८ प्रतिवादीलाई ६४ करोड ३१ लाख रुपैयाँ बराबर सजाय माग दाबी गरिएको छ । यही अवधिमा विदेशी विनिमयको अपचलनतर्फ छ सूचना आएकामा ५ मुद्दा दायर भएका छन् । ६ जनाविरुद्ध ५२ लाख ३३ हजार रुपैयाँ बराबर माग दाबी गरी मुद्दा दायर गरिएको प्रेस नोटमा उल्लेख छ ।
त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई ५८ लाख १८ हजार रुपैयाँ बराबर जरिवाना गरिएको विभागले जनाएको छ । आर्थिक सुशासन कायम गर्न पछिल्लो समय राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाउँदै लगिएको विभागले दाबी गरेको छ ।
“राजस्व चुहावटमा संलग्न व्यवसाय, फार्म तथा व्यक्तिको कारोबारस्थलमा विभागले अनुमगन बढाउने, कारोबारस्थलबाट कागजात नियन्त्रणमा लिने, अनुसन्धान गर्ने र कानुनले तोकको सीमाभित्र तथा अभियोजन गर्ने वा कर निर्धारण गर्ने काम भएको छ”, प्रेस नोटमा उल्लेख छ । सरकारले पछिल्लो केही समय आयातमा कडाइ गरेका चिनी, कपडाजन्य सामान, मदिरा तथा विद्युतीय सामानमा चोरी पैठारी बढी हुनसक्ने भन्दै विभागले अनुगमन बढाएको जनाएको छ ।
त्यस्तै, भन्सार बिन्दु प्रयोग नगरी गोदामस्थलमा स्रोत नखुलेका मालवस्तुको भण्डारण र कारोबार गरेको सूचनाको आधारमा यस्ता क्रियाकलापमा संलग्न व्यवसायीलाई अनुसन्धानको दायरामा ल्याएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्