म्याग्दी । पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् ।
विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र खर्चको पनि बचत गरेको छ । आधुनिक सामग्रीको विकास भएपनि कतिपय ठाउँमा अझै परम्परागत सामग्रीको प्रयोगमा कमी आएको छैन् ।
जिल्लाको मंगला गाउँपालिका–२ सिममा रहेको उखु पेल्ने कोलको लोकप्रियता कायमै छ । विसं २०१९ मा स्थानीयवासी खगेन्द्र केसीले कोल स्थापना गरेका थिए । हाल काठमाडौंमा बस्दै आएका उनले अहिले छिमेकी र घरकुरुवालाई कोल सञ्चालनको जिम्मा लगाएका छन् ।
“पचास वर्षअघि जसरी उखु पेल्न आउने गर्दथे अहिले पनि त्यस्तै छ,” खगेन्द्रका छिमेकी समेत रहेका आफन्त दिपक केसीले भने, उखु पेल्ने आधुनिक मेसिन विकास भएपनि यो कोलको महत्व र प्रयोग कायमै छ ।”
बेनी–दरवाङ सडकको छेउमै रहेको खगेन्द्रको घरमा हरेक वर्षको पुष र माघ महिनामा कोल जडान गरिन्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरु आउने गरेका छन् । कोलमा उखु पेले वापत १५ लिटर बराबर ८० शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ ।
“कोलमा पेल्दा धेरै रस आउने, शुद्ध र राम्रो हुन्छ,” मंगला–५ सिर्कुमकी लिलावती सापकोटाले भने “कोलमा पेलेको उखुको रस स्वस्थकर पनि हुन्छ । त्यही भएर डेढ घण्टा हिडेर उखु पेल्न आएको हो ।”
कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । मंगला गाउँपालिका–५ पिपलबोटकी चन्द्रकली सापकोटाका अनुसार चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । “खुदोलाई पूजाआजामा पनि प्रयोग गरिन्छ, उनले भने, तत्कालीन चिनी पाइदैनथ्यो । गुलीयो बनाउन खुदो चाहिन्थ्यो ।”
मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्