काठमाडौं । सरकारले यस वर्ष नेपालको आर्थिक वृद्धि ८ प्रतिशतको लक्ष्य लिएपनि विश्व बैंकले भने ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेकटस’ प्रतिवेदनमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धि दर ५.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
पछिल्लो पटक सार्वजनिक सो प्रतिवेदनमा नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ४.९ प्रतिशत हुने पनि प्रक्षेपण गरिएको छ । साथै, सो प्रतिवेदनमा सन् २०२३ मा दक्षिण एसियाली देशहरुको आर्थिक वृद्धि ५.५ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ ।
यसैगरी, विश्व बैंकले समर्ग विश्व अर्थतन्त्र वृद्धि भने सन् २०२३ मा १.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । ६ महिना अघिमात्रै विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धि ३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।
युक्रेन र रूसबीच चलिरहेको युद्ध तथा कोरोना महामारीको प्रभावबाट लगायतका कारणले गर्दा विश्व अर्थतन्त्रमा दीर्घकालीन रुपमा संकट देखा पर्दै गएको प्रतिवेदनमा उल्लेख छ । जसको मुख्य प्रभाव विकासोन्मुख देशहरु सबैभन्दा पहिलो र बढी पर्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्