काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले मर्जरपछी एकीकृत कारोबार आरम्भ गरेका छन् । बुधबार एक समारोहबिच एकीकृत कारोबार आरम्भ गरिएमर्जरपछी बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड कायम भएको छ । बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ज्योति प्रकाश पाण्डे चयन भएका छन् । बुधबार बिहान बसेको संचालक समिति बैठकले पाँडेलाई अध्यक्ष चयन गरेको हो ।
एकीकृत कारोबार शुभराम्भ कार्यक्रममा अध्यक्ष पाँडेले नेपालमा बैंकको संख्या ६/७ वटा भए पुग्ने बताए । नेपालको अर्थतन्त्रको आकारले धेरै बैंक धान्न नसक्ने र निकट भविस्यमा मर्जरको नयाँ लहर आउने दावी पनि गरे । अहिले देखिएको मर्जरको लहरको प्रस्ताव आफुले गरेको पनि बताए ।
बैंक मर्जले निक्षेपकर्ताको पैसा थप सुरक्षित हुने उनको भनाइ छ । मेगा र इन्भेस्टमेन्ट बैंकले मर्जर सम्पन्न गरि बनेको बैंकमा सेयरधनीको ५८ अर्ब रुपैयाँ मासे पछिमात्रै निक्षेपकर्ताको पैसा जोखिममा पर्ने उनी बताउछन् ।
काठमाडौमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष श्री पृथ्वीबहादुर पांडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष श्री भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन् । दुई बैकबीच शेयर स्वाप अनुपात १००:९० रहेको छ । नयाँ सञ्चालक समितिमा दुबै बैकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट
प्रजन्य राजभण्डारी, कवि कुमार टिबेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य
र मुक्ति राम पाण्डे रहेका छन् ।
त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेकि मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेकी छिन ।
यसैगरी, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ्ग क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्न दुबै बैकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई
अंगिकार गर्नुका साथै शेयरधनिहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास उनले व्यक्त गरे ।
यस रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पुऱ्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, दुबै बैंकका सञ्चालक समिति, मर्जर समिति, कर्मचारीवर्ग लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति दुवै बैंकका
अध्यक्षहरुले संयुक्तरुपमा आभार व्यक्त गरे ।
मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी ३४.१२ अर्ब, कुल पूँजी ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, त्यसैगरी कुल निक्षेप ३६०.२ अब तथा कर्जा लगानी ३२९.०६ अर्ब रुपैयाँ गरी कुल ३० लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक अग्रणी बैंक बनेको छ।
त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ्ग सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ । निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तिय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्