‘राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै ।
मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै’
भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुन् जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट ।
उनले अहिलेसम्म कसैको सहयोगबिनै बाख्रापालनबाट लाखौँको कारोबार गरिरहेका छन् । पुँगर लेकमा बस्ने विष्टले दुईवटा बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोरमा कम्तीमा साना ठूला गरी पाँच दर्जन खसी, बोका र बाख्री छन् । चार पुस्तादेखि पुँगरमा रमाएका विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो ।
जिल्ला सदरमुकामबाट डेढ घण्टाको दूरीमा रहेको पुँगरमा विष्टले हरेक महिना चाररपाँचवटा खसी बाख्राको बिक्री गरी राम्रो आम्दानी गरिसकेका छन् ।
उनले विभिन्न व्यवसाय सुरु गरेपनि कतैबाट सोचेजस्तो लाभ भएन । उनी भन्छन्,’मैले जिन्दगीमा धेरै व्यवसायमा हात हालें तर सफलता भने कतैबाट हात लागेन । बाख्रापालन व्यवसायले भने राम्रै आदानी दिएको छ । अहिले पनि महिनामै चाररपाँच वटा बाख्रा बेचिन्छ ।’
निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनको भनाइ छ । बाख्रापालनबाट राम्रो फाइदा देखेका भरतबहादुर जङ्गली जनावरबाट भने आजित छन् । उनको गोठ रहेको पुँगरमा चितुवा, स्यालजस्ता जनावरले समयसमयमा बाख्रा खाइदिँदा नोक्सानी हुने गरेको छ । बाख्रालाई खोरमा र चरनमा लैजाँदा जनावरबाट जोगाउन हम्मेहम्मे पर्ने गरेको उनी बताउँछन् ।
‘बाख्रापालनबाट केही घाटा छैन,’ उनले भने , ‘दिनभर चराउँदा पनि पुग्छ, बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ ।’
उनले बाख्रापालनसँगै भैँसी, गाई, गोरू पनि पालेका छन् । उनी भन्छन्, ‘मेरा सम्पति भनेकै यिनै चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइदैन ।’ भरतबहादुरले अहिलेसम्म राज्यबाट कुनै अनुदान, पशु औषधिजस्ता कुरा केही नपाएको गुनासो गरे । ‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो,’ उनी भन्छन्,’कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ । तर, हामीजस्ता किसानलाई सामान्य औषधि पनि दिँदैन ।’
पुँगरमा वनभोजका लागि मानिस आउने गर्दछन् । वनभोजमा आउनेहरुले पनि खसी बोका किनेर लैजाने गरेको उनी बताउँछन् । ‘यसै वर्षको मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई बिक्री गरेँ,’ उनले भने । अहिले विष्टले बाख्राबाटै वार्षिक सात लाख रूपैयाँभन्दा बढी कमाउँदै आएका छन् । ‘मैले बाख्रा पालेको लामो समय भइसक्यो,’ उनले भने , ‘पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुईरचार वर्षयता भने बचत पनि भइरहेको छ ।’
त्यसै आम्दानीबाट तीन छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए । भरत मात्रै हुनुहुन्न, उनका अन्य थुप्रै छिमेकी पडेसभन्दा बढी पुँगरमै बस्छन् । पुँगरमा बस्दै आएका बलराम विष्ट भन्छन्, ‘पुँगरमा खुला ठाउँ भएकाले वस्तुभाउ पाल्नदेखि फलफूल तरकारी खेती गर्न सजिलो छ ।’
प्रतिक्रिया दिनुहोस्