Shikhar Insurance
National Life

‘यसरी बन्यौं देशकै ठुलाे र ‘नम्बर वान’ बैंक, अब समस्यामा रहेका उद्योग व्यवसायीलाई राहत दिन्छौं’

चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गछौं
चन्द्र ढकाल
२०७९ पुष २५, सोमबार १२:५७
Hyundai
NCELL
NIMB

पुस २५ गते नेपाली बैंकिङ्ग क्षेत्रका लागि एउटा ऐतिहासिक दिन हो । ग्लोब आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्पन्न भएसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आइएमई बैंक नेपालको नम्बर वान बैंक बनेको छ । हुन त यसअघि पनि हामी धेरै सूचकमा नम्बर वान् नै थियौं तर आजको मर्जरपछि हामी झनै माथि उक्लिन सफल भएका छौं ।

यो मर्जरसमेत गरेर ग्लोबल आइएमई बैंकले हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्थाहरु एउटै संस्थाका रुपमा एकीकृत गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अघि बढेको ग्लोबल आइएमई बैंक सरकारको यो नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर पनि हो । ग्लोबल र बिओके दुई प्लस दुई बराबर चार हैन पाँचको लक्ष्यसहित मर्जरमा गएकै कारणले मात्र सफल भएका छैनौँ सरकारको यो नीतिको कार्यान्वयनबाट देशका अरु बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जानको लागि उत्साहित समेत गरेको छ ।

अर्काे पक्ष भनेको बैंकका सेयरधनीदेखि निक्षेपकर्ता, ग्राहक सबैले हाम्रो मर्जर अभियानलाई सफल बनाउन ठूलो सहयोग र कतिपय अवस्थामा त्याग पनि गरेका छन् । ग्लोबल आइएमई बैंक कुल पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जालगायत धेरै आधारमा देशकै सबैभन्दा ठूलो बैंक भएको छ ।

आकार या अंकमा ठूलो हुनु मात्र पनि सफलता होइन । आकारको यो वृद्धिले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने हाम्रो सोच हो । सबैका लागि बैंक भन्ने मूल मन्त्रका साथ मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म, वित्तीय सेवा पु¥याउने बैंकका रुपमा अघि बढिरहेको ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ ।

अब म मर्जर पछि ग्लोबल आइएमई बैंकको व्यवसायको आकारमा कुल पुँजी कोष ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १० अर्ब, कुल कर्जा ४ खर्ब, कुल सम्पति ५ खर्ब रुपैयाँ पुगेको छ । साथै, शाखा सञ्जाल १ हजार १ सय, सेवा पुगेको जिल्ला ७७ वटा, ३ वटा बैदेशिक सम्पर्क कार्यालय, ४० लाख भन्दा बढी ग्राहक संख्या, ४ हजार भन्दा बढी कर्मचारीहरु रहेको बैंक बनेको छ ।

नेपाल राष्ट्र बैंकबाट लेटर अफ इन्टेन्ट लिएर दक्षिण कोरियामा नेपाली बैंकको पहिलो बैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा ग्लोबल आइएमई बैंक रहेको छ ।

बिओकेसँग मर्जर पश्चात मुलुकको वित्तीय क्षेत्रको कुल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने आकारमा ग्लोबल आइएमई बैंक पुग्ने देखिएको छ । मुलुककै पहिलो हुनु अर्थात् ठूलो हुनुका पछाडि अवसर मात्र छन् भन्ने लाग्दैन । यससँग कैयौँ चुनौती जोडिएका हुन्छन् । त्यसैले ठूलो बैंक हुनुमा पनि अवसर र चुनौती दुवै छन् । जोखिम र व्यवस्थापकीय समस्या पनि छन् । तर, हामी चुनौतीको पहिचान गरेर त्यसैबाट अवसर सिर्जना गर्नेमा केन्द्रित छौँ ।

पटकपटक मर्जरको अनुभव हासिल गरिसकेकाले चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी ग्लोबल आइएमई बैंकलाई सबल संस्थाका रुपमा विकास गर्न हामी फेरि पनि सक्षम हुनेछौं भन्ने मलाई पूर्ण विश्वास छ ।

देशको अर्थतन्त्रको आकार ठूलो भइरहेको अवस्थामा विभिन्न बैंकहरु एक आपसमा मर्जर भई ठूलो हुनु क्षमता अभिवृद्धिको हिसाबले निश्चय पनि राम्रो हो । बैंकहरु ससाना रहँदा आजको आवश्यकतानुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी संख्यामा बैंकहरुको सहकार्य आवश्यकता पर्ने हुँदा कठिनाई भोग्न बाध्य उद्योग व्यवसायीहरुको लागि पनि यसले राहत दिनेछ ।

निजी क्षेत्रको एउटा सानो प्रयासबाट सुरु भएको हाम्रो आइएमई रेमिट्यान्स, आइएमई फाइनान्स, ग्लोबल बैंक हुँदै अहिले मुलुककै सबैभन्दा ठूलो बैंकको रुपमा ग्लोबल आइएमई बैंकसम्म आइपुगेको छ ।

खाडीमा रहेका नेपालीले दुःख जिलो गरी कमाएको दुई चार पैसा उनीहरुका घरसम्म पुर्याइदिन हामीले सुरु गरेको यात्रा आज यहाँसम्म आइपुगेको छ । तिनै नेपाली दाजुभाइको रकम इमान्दारिताका साथ घरघरसम्म पुर्याएकाले नै उहाँहरुको आशीर्वादले हामीलाई अघि बढ्न प्रेरणा दिएको हामीले महसुस गरेका छौँ ।

त्यसैले कुनै पनि पेशा या व्यवसायको सफलताको शुत्र इमान्दारिता नै हो भन्ने मेरो विश्वास छ । त्यही इमान्दारितामा हाम्रो लगाव र मेहनत मिसाउँदा हामीलाई यो प्रतिफल प्राप्त भएको हो भन्ने मलाई लाग्दछ ।

साथै हाम्रो सेवा र कामप्रतिको आम नेपालीको विश्वासले पनि हाम्रो यात्रामा प्रेरणा दिइरहेकै छ । आगामी दिनमा पनि हामी हाम्रो यो इमान्दारिता र मेहनत, अनि नेपाली दाजुभाइ दिदी बहिनीहरुको विश्वासलाई अझ माथि उठाएर काम गर्नेछौँ भन्ने मेरो प्रण छ ।

हामीले कुनै पनि व्यवसाय सुरु गर्दा राज्यको प्राथमिकता, आम नागरिकलाई सेवा पुग्ने व्यवसाय र जुन व्यवसाय आर्थिक रुपमा सम्भाव्य छ त्यस्तो व्यवसाय अवलम्बन गर्ने मुख्य तीन प्राथमिकता निर्धारण गरेर गर्ने गरेका छौँ । जस्तो कि हामीले सुरु गरेको आइएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकतामा थियो भने आम नागरिकले यस्तो सेवा खोजिरहेका थिए । राज्यले औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन चाहेको थियो भने सम्बन्धित व्यक्तिको घरपरिवारसम्म उनीहरुको रकम पु¥याउनु आम वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको आवश्यकता थियो ।

नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमा रहेर हामीले मुलुकको वित्तीय क्षेत्रलाई नयाँ दिशा र गति प्रदान गरिरहेका छौँ भन्ने मलाई लाग्दछ । वित्तीय क्षेत्रलाई सबल र सक्षम बनाउन नेपाल राष्ट्र बैंकले लिने नीतिलाई पहिलो कार्यान्वयनमा ल्याउने बैंक हामी नै हौँ । चाहे क्रस होल्डिङ्गको विषय होस् वा पूँजी बढाउने विषय वा पछिल्लो पटक आएको बिग मर्जरको विषय होस् । यी नीतिलाई सुरुमा हामीले नै कार्यान्वयनमा ल्याएका छौँ ।

देशको सबैभन्दा ठूलो वाणिज्य बैंकका रुपमा ग्लोबल आइएमई बैंकलाई स्थापित गराउनमा पनि मुलुकको केन्द्रीय बैंकको निरन्तर गाइडेन्स, सुझाव, सल्लाह र सहयोग यसरी नै प्राप्त भइरहने हामीलाई विश्वास छ ।

(ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले बिओकेसँग मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा राखेको  मन्तव्यकाे सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्