काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले मर्जर तथा प्राप्तिपछि ठुला भएका बैंक तथा वित्तीय संस्थाहरुले नागरिक र सेवाग्राहीको पहुँचमा ह्रास आउन नदिनु पर्ने बताएका छन् । सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको उद्घाटनमा उनले सो बताएका हुन् ।
उनले मर्जर पछि स्थापित बैंकले ठुला परियोजनामा लगानी गर्ने मुख्य उदेश्य राखेर व्यवसाय गर्नु पर्ने भएपनि साना ग्राहक र आम नागरिकलाई भने ठुला बनेका बैंकले आफ्नो पहुँचबाट टाढा हुन नदिनुपर्ने बताएका हुन् ।
‘मर्जरले बैंक तथा वित्तीय संस्थालाई ठुला परियोजनामा लगानी गर्ने स्रोत जुटाउन सहयोग गर्ने, वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा हट्दै जाने अपेक्षा गर्न सकिन्छ,’ कार्यक्रममा प्रम दाहालले भने, ‘तर, यो क्रममा नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस् भन्ने कुराको हेक्का राखियोस् ।’
बैंकिङ क्षेत्रले दिएको अवसरको सही सदुपयोग भएमा ऋण तथा लगानीको स्रोतमा पहुँच बढेसँगै अर्थतन्त्रले गति लिने उनको भनाइ छ । जसले गर्दा आम नागरिक र व्यवसायीहरुको उद्यमशिलता बढ्ने विस्वास उनको छ ।
‘बैंक तथा वित्तीय संस्थाले ठुला परियोजनासँगै नवितम बैंकिङ प्रणालीको प्रयोग गरेर आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय पहुँच र स्वारोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्न जरुरी छ,’ उनले थपे, ‘हाम्रो जस्तो विकासशील अर्थतन्त्रमा नियामकको लागि चुनौति भनेको नवप्रवद्र्धनलाई सहयोग पुर्याउने खालको नियमन गर्नु हो । यो विषयमा राष्ट्र बैंक प्रतिवद्ध छ भन्ने मेरो विस्वास छ ।’
अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउँदै उनले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल गरिसकेको जानकारी दिए ।
‘अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको छ, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रको सहयोगलाई वस्तुपरक रुपमा घनिभुत गराउने निर्णय सरकारले लिएको छ ।’–उनले थपे ।
‘राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री र म बसेर निजी क्षेत्रका चासोका बिषयमा र अर्थतन्त्रका चुनौती र समस्याहरुको समाधान कसरी गर्न सकिन्छ ? भनेर सबलीकरण गर्ने प्रयास गरिसकेका छौं । सबैको साथ लिएर चुनौती समाधान गर्ने हो । सबैको सहयोग भयो भने सबै समस्या समाधान गर्न सकिन्छ ।’
ग्लोबल आइएमई बैंकले हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थालाई मिलेर बनेको भन्दै बैंक अफ काठमाण्डूसँग मिलेर कारोबार शुरु गरेपछि देशकै सबैभन्दा ठुलो बैंक बन्दै गर्दा २१ वटा वित्तीय संस्थामा कर्मचारी संचालक, लगानीकर्ता लगायतलाई मिलाएर यहाँसम्म आइपुग्नु असाधारण काम भएको बताए । सो काम राष्ट्र बैंकको लागि महत्वपूर्ण कदम हो भएको बताउँदै ग्लोबल र बैंक अफ काठमाण्डूको मर्जरका कारण मुलुकले थप बलियो र गतिशिल बैंकिङ क्षेत्र प्राप्त गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्